समाचार

राप्तीले बगाउँदा एकजनाको मृत्यु, एक बेपत्ता



चितवन, २० असोज । पश्चिम चितवनको राप्ती नदीले बगाएर एकजनाको मृत्यु भएको छ । एक बेपत्ता भएका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२४, की ४८ वर्षीया फडिमाया अधिकारी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार बेपत्ता हुनेमा ३२ वर्षीया निरमाया श्रीमल रहेकी छन् । पण्डितका अनुसार शनिबार बिहान उनीहरू निगुरो टिप्न गएका थिए । बेपत्ता श्रीमलको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

मृतकको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको पण्डितले बताए । भरतपुर महानगरपालिका–२५ स्थित जमुनाघाटमा उनीहरूलाई नदीले बगाएको थियो । रासस