राजनीति

सुन तस्करी प्रकरणमा चलखेल हुने देखियो: पूर्वमन्त्री बस्नेत



काठमाडौँ, २१ असोज । नेकपा (एमाले)को पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले सुन तस्करी प्रकरणमा चलखेल हुने देखिएको बताउनुभएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले विद्युतीय सिगरेट भेपमा लुकाएर गरेको सुन तस्करीमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा चलाउनु नपर्ने निष्कर्ष निकालेको छ । उनका छोरा राहुल सहित तीन जना विरुद्ध भने मुद्दा चलाउन सिफारिस गरिएको छ । सीआईबीले आइतबार सरकारी वकिलको कार्यालय, काठमाडौँमा बुझाएको प्रतिवेदनमा राहुल महरा, दावाजिन वाङका चालक लोकेन्द्र पौडेल र दावा छिरिङलाई मुद्दा चलाउन सिफारिस गरिएको छ । लुइ सहितका ६ जना चिनियाँ नागरिकको हकमा भने भेटिएको बखत मुद्दा चल्ने गरी नाम समावेश गरिएको सीआईबी स्रोतले जनाएको छ । प्रहरीले ८ करोड ५७ लाख बिगो कायम गर्नुपर्ने राय दिएको छ ।

सोही प्रशंगलाई लक्षित गर्दै नेता बस्नेतले वर्तमान सरकारले सुन तस्करी प्रकरणमा आफ्ना नेता तथा कार्यकर्तालाई बचाउने खेल खेल्न खोजेको आशंका गर्नुभयो । पूर्वसभामुख महराको भेप प्रकरणमा संलग्नता रहेको तथ्यहरु सार्वजनिक भइसकेको अवस्थामा समेत उनलाई सरकारले नियोजित रुपमा बचाउने षड्यन्त्र रचेको भन्दै एमालेको अथक प्रयास र दवावमा बनेको उच्च स्तरीय छानविन समितिले चनाखो भएर काम गर्नुपर्नेमा नेता बस्नेतले सचेत गराउनुभयो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘सीआईबीले भेपमा लुकाइ गरेको सुन तस्करीमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा चलाउनु नपर्ने निष्कर्ष निकालेछ। उनका छोरा राहुल सहित तीन जना विरुद्ध मात्र मुद्दा चलाउन सिफारिस गरेछ । यसमा हुन सक्ने चलखेलमा भर्खर गठीत उच्च तहको छानबीन समिति चनाखो हुन पर्ने देखियो ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले नियमित जाँचका क्रममा २९ माघ २०७९ मा दुई वटा सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० थान ई–सिगरेट (भेप) बरामद गरेको थियो । भेप बरामद गरेर गोदाममा राखिएका बेला तस्कर समूहले छुटाउनका लागि ताकेता गरिरहेका थिए भने भेपभित्र सुन रहेको थाहा पाएपछि भन्सारका अधिकृत रेवन्त खड्का सहितको मिलेमतोमा सुन बिक्री गरिएको थियो । त्यसरी सुन बिक्री गरेको थाहा पाएपछि तत्कालीन प्रमुख भन्सार प्रशासकले अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई जाहेरी दिएका थिए । इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गरेको घटनाको अनुसन्धान प्रतिवेदन प्रहरीले आइतबार सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ ।