राजनीति

महासमिति सदस्य निर्वाचनको चटारोमा कांग्रेस



काठमाडौँ, २४ असोज । नेपाली कांग्रेस महासमिति सदस्य चयनमा जुटेको छ ।

साउन २–८ को केन्द्रीय समिति बैठकले गरेको निर्णयअनुसार कांग्रेस महासमिति सदस्य चयनमा जुटेको हो । असोज मसान्तभित्र महासमिति सदस्यको निर्वाचन सक्नेगरी अघि बढेको कांग्रेसमा ४३ जिल्लाबाट प्रतिनिधि छनोट भइसकेका छन् ।बाँकी ३४ जिल्लामा पार्टी जिल्ला समितिको बैठक बसेर महासमिति सदस्य छनोट गर्न जिल्ला तहका नेता कार्यकर्ताहरू जुटेका हुन् ।

पार्टीको माहधिवेशन भएको करिब दुई वर्षपछि महासमिति बैठक गर्न लागेको पार्टीले उक्त भेलामा सहभागिता जनाउने महासमिति सदस्य चयनसमेत भर्खर गर्दैछ । विधानअनुसार महाधिवेशन प्रतिनिधि छनोटलगत्तै महासमितिको मनोनयन हुने र महाधिवेशन प्रतिनिधिहरूमध्येबाट त्यही बखत महासमिति सदस्यको छनोट गर्नुपर्ने व्यवस्था छ ।

महाधिवेशन प्रतिनिधि जितेकाहरूबाट महासमिति सदस्यमा सर्वसहमत छनोट गर्ने यदि सर्वसहमत हुन नसके वडाबाटै छनोट भएर आएका क्षेत्रीय प्रतिनिधिहरूको मतदानबाट महासमिति सदस्य छनोट गर्नुपर्ने व्यवस्था कांग्रेसको विधानमा छ । तर, कांग्रेसले त्यसलाई व्यावहारिक तवरबाट लागु गर्न सकेको छैन । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।