समाचार

१५ वर्षीया बालिका बलात्कृत



जनकपुरधाम, २५ असोज । धनुषामा एक १५ वर्षीया बालिका छिमेकीबाट बलात्कृत भएकी छिन् ।

जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका ९ इच्छापुरमा बालिका गत  शनिबार बलात्कृत भएकी हुन् । नातामा मामा पर्ने एक छिमेकीबाट उनी बलात्कारको सिकार भएकी हुन् । बालिका नातामा भान्जी पर्ने सोही वडा बस्ने छिमेकी वर्ष २५ का ईश्वरराज भनिने भरत महतोबाट बलात्कृत भएकी हुन् । 

गत शनिवार करिब ५ बजेको समयमा खेतमा घाँस काट्न गएको वेला एक्लो देखेर उखुवारीमा लागि बलात्कार गरेको बालिकाको भनाइ छ । महतोले बालिकालाई एक्लै देखेर पछाडिबाट आँखा छोपी हातखुट्टा बाँधेर उखुवारीमा लागि बलात्कार गरेको बालिकाको आरोप छ । बालिकाका अनुसार आफ्नो आँखा खोलेपछि आफ्नै छिमेकी मामा पर्ने भरत महतो रहेको देखेकी थिइन् ।

बलात्कार पश्चात् महतोले आफूलाई लुगा र चप्पल किनिदिने लोभ देखाएको उनले बताइन् ।  पीडित बालिकाको रुँदै घरमा आफ्नो दाइलाई घटनाबारे जनकारी गराएकी थिइन । यता, पीडित वालिकाको दाजुले भरतलाई समातेर प्रहरीकोमा बुझाउन खोज्दा आरोपितका मामाहरूले गाउँमै घटना मिलाउन दबाब दिएको बताए । साथै, आफूलाई पैसाको प्रलोभन देखाउँदै गाउँमै घटना मिलाउन गाउँकै अरू व्यक्तिहरूबाट पनि दबाब आएको बताए । 

बलात्कार आरोपमा जाहेरी दर्ता भैसकेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक कार्कीले जानकारी दिए । उनले जाहेरी दर्ता भएर पक्राउ पुर्जी लिने काम अघि बढेको जानकारी दिए । उनले आरोपितलाई पक्राउ गरेर अनुसन्धान गरेपश्चात् मात्रै घटनाको विषयमा थप भन्न सकिने बताए ।