Banner News

राष्ट्रपति पौडेलसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस



काठमाडौँ, २९ असोज  । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ ।

सोमबार एक कार्यक्रमका बीच आयोगका अध्यक्ष समीम मियाँ अन्सारीले राष्ट्रपति भवन शीतल निवासमा प्रतिवेदन पेस गरेका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक मुलुक भएकाले सबै जाति, भाषा, संस्कृति र समुदायका बीचमा सहअस्तित्वका आधारमा आपसी सद्भाव कायम राख्न मुस्लिम आयोग जस्ता आयोगको भूमिका महत्वपूर्ण हुने बताए । प्रतिवेदन बुझाउदै आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आयोगले गरेका काम कारबाहीको बारेमा संक्षिप्त जानकारी गराएका थिए । मुस्लिम समुदायको हक अधिकारको संरक्षणलाई प्राथमिकता दिएर आयोगले काम गरिरहेको मियाँले जानकारी दिए ।

आयोगको मुस्लिम समुदायको हक अधिकार संरक्षणमा गहन र महत्वपूर्ण दायित्व रहेको पनि राष्ट्रपति पौडेलले स्पष्ट पारे । उनले आयोगले आफ्नो संवैधानिक र कानुनी दायित्व पूरा गर्ने सन्दर्भमा आफूले गरेका काम र क्रियाकलापहरु समेटेर जुन प्रतिवेदन पेस गरेको छ, यसमा उठाइएका महत्वपूर्ण विषयहरूलाई नेपाल सरकारले प्रभावकारी रूपमा सम्बोधन गर्नेछ भन्ने विश्वास व्यक्त गरे ।