राजनीति

एनआरएनएलाई प्रोत्साहन गर्न सरकारले नीतिगत पहल र प्रयत्न गर्दैछ : मन्त्री साउद



काठमाडौँ, ३० असोज । परराष्ट्रमन्त्री एनपी साउदले सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए) सँग थप हातेमालो गर्न चाहेको बताएका छन् ।

मंगलबारदेखि राजधानीमा सुरु भएको संघको ११ औँ विश्व सम्मेलनको उद्घाटन गर्दै मन्त्री साउदले एनआरएनएलाई प्रोत्साहन गर्न सरकारले नीतिगत पहल र प्रयत्न गर्दै आइरहेको जानकारी दिए । उनले नेपाली राजनीतिमा पनि गैरआवासीय नेपालीको उपस्थिति महत्त्वपूर्ण रहेको उल्लेख गर्दै हरेक चुनावमा दलहरूको एजेन्डामा एनआरएनएको विषय पनि हुने गरेको बताए ।

‘एनआरएनएको माग र मुद्दा सम्बोधन गर्न सरकारले छुट्टै महाशाखाको व्यवस्था गरेको छ’, उनले भने, ‘सरकारले एनआरएनएलाई प्रोत्साहन गर्न नीतिगत पहल र प्रयत्न गर्दै आएको छ । यस विषयलाई थप गतिशील सार्थक बनाउन सरकार प्रयासरत छ भने नेपाल सरकार एनआरएनएसँग थप हातेमालो गर्न चाहन्छ ।’