भक्तपुर, ३० असोज । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले कोशी प्रदेशमा भएको राजनीतिक परिवर्तनले प्रदेशको संकट टरेको बताउनुभएको छ ।
राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी भक्तपुरले विजय दशमी, दिपावली, नेपाल सम्वत्, छठलगायतको चाडवर्पको अवसरमा आज आयोजना गरेको शुभकामना कार्यक्रममा बोल्दै नेता बस्नेतले अबका दिनमा सातवटै प्रदेश तथा संघीय सरकार परिवर्तन हुने संकेत गर्नुभयो । वर्तमान गठबन्धनको सरकार बनेसँगै मुलुक अराजक, अस्थिर तथा भ्रष्टाचारको चंगुलमा फसेको उल्लेख गर्दै उहाँले उक्त कुराहरु रोक्न र जनताको चाहना अनुसार मुलुकलाई विकास र समृद्धिको यात्रामा लैजान एमालेको नेतृत्व अपरिहार्य बनिसकेको बताउनुभयो । जतिसक्दो चाँडो वर्तमान सरकारलाई देशभरबाट उखेलेर फाल्न आवश्यकता रहेको औंल्याउँदै संघका इन्चार्जसमेत रहनुभएका नेता बस्नतेले सरकार कै कारण देशमा अराजकता, भ्रष्टाचार, अनियमितता, आर्थिक संकट, पाँच गुणासम्म मुल्यवृद्धि भएको भन्दै आक्रोस जनाउनुभयो ।
उहाँले भन्नुभयो, ‘कोशी प्रदेशको संकट जोगाउन एमालेले महत्वपूर्ण र प्रभावकारी कदम चालेको छ । प्रदेशलाई मध्यावधी निर्वाचनमा जानबाट जोगाएको छ । यो क्रम अब देशभर चल्छ । संघीय सरकारमा समेत एमालेले नेतृत्व गर्नुपर्ने आवश्यकता अपरिहार्य भएको छ । कोशीको भेलले दुर्गा प्रसाई र पहिचानवादीलाई त साईड लगाई सक्यो । कोशीको भेलले अब कांग्रेस (देउवा पक्ष) र माओवादीलाई देशभरबाट बगाउँदैछ । यो सरकारलाई जतिसक्दो चाँडो उखेल्नुपर्छ । प्रचण्डको त राजनीतिक समाप्ती नै हुँदैछ । त्यसैले एमाले मुलुकको राजनीतिको मियो हो । जसले दुर्घटना हुन लागेको अवस्थामा मुलुकलाई सेफ ल्याण्डिङ गराउँछ । वर्तमान गठबन्धन सरकारको काम भनेको भ्रष्टाचारी, तस्करी, अपराधीको संरक्षण गर्ने मात्र हो ।’
सरकारकै सरक्षणमा निषेधको राजनीति भइरहेको आक्रोस जनाउँदै उहाँले देशभर अराजकता गतिविधिहरु बारे सरकार मुखदर्शक भइरहेको बताउनुभयो । सरकार र प्रहरी अपराधीलाई संरक्षण गर्न लागिरहेको आरोप लगाउँदै उहाँले कांग्रेसको आडमा विगतदेखी हालसम्म नै अपराधिक गतिविधिहरु भईरहे पनि राष्ट्रिय युवा संघले त्यसलाई नियन्त्रणमा ल्याएको स्मरण गराउनुभयो । दुर्गा प्रसाईको अराजकतालाई सरकार तथा प्रहरीले कानुनी उपचार नगरे युवा संघले उपचार गर्ने आक्रोस जनाउँदै नेता बस्नेतले उक्त अवस्था आए स्वयम् प्रसाई र प्रहरी प्रशासनले जिम्मा लिनुपर्ने चेतावनी जनाउनुभयो ।
एमाले भक्तपुर जिल्ला कमिटी अध्यक्ष बचन देउजाले एमालेको नेतृत्व नआएसम्म देशको समस्या समाधान नहुने दावी गर्नुभयो । सरकारका कारण युवा विद्यार्थीलाई देशमा नै केही हुन्छ भन्ने अवस्था अन्त्य हुँदै गएको दुःखद् परिस्थितीको विश्लेषण गर्दै उहाँले देश विकासको महत्वपूर्ण जिम्मेवारी बोक्ने युवा विदेश निर्यात हुनु र अनावश्यक वस्तु वा पदार्थ आयात हुनु देशको दुर्भाग्य भएको बताउनुभयो । देश र पार्टीलाई दिने योगदान महत्वपूर्ण हुने उल्लेख गर्दै उहाँले जनताको मुद्धालाई आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो ।
संघका अध्यक्ष क्षितिजे थेवेले संघ नेपाली युवा आन्दोलनलाई वैज्ञानिक र विशिष्ठीकृत ढंगले अगाडी बढेको बताउनुभयो । वर्तमान सरकारका कारण असत्यको जीत र सत्यको पराजय हुने अवस्था आएको उल्लेख गर्दै उहाँले एमालेले त्यसलाई संघ र एमालेले लतारेर ठिक ठाउँमा ल्याउने उद्घोष गर्नुभयो । सत्यताको पक्षमा एमालेले लतारेर नै कोशी प्रदेशको संकट समाधान भएको उल्लेख गर्दै उहाँले राष्ट्रिय विखण्डनवादीहरुलाई एमाले र संघले परास्त सहजै रुपमा गर्ने बताउनुभयो । व्यक्ति–व्यक्ति तथा एमालेमाथिको प्रहारलाई संघले गम्भीर रुपमा लिएको उल्लेख गर्दै उहाँले यस्ता दुस्साहस नगर्न नेतावनी दिनुभयो । देशमा सरकार भए पनि जनताले सरकार भएको अनुभुति गर्न नपाएको उल्लेख गर्दै उहाँले सरकारले सुशासनको धज्जि उडाएको आरोप लगाउनुभयो । सरकारकै संरक्षणमा एमालेमाथि अब पनि प्रहार भए सरकार र सो समुहले ठूलो क्षती व्यहोर्नुपर्ने चेतावनी दिँदै उहाँले उक्त कार्यको तयारी संघले देशैभर गरिरहेको स्पष्ट पार्नुभयो । कानुनलाई हातमा नभई साथमा लिएर अराजक तत्वलाई ठाउँको ठाउँ प्रतिवाद गर्न संघका नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।
संघका महासचिव सुमन पुरीले संघका नेता तथा कार्यकर्ताले देशभर एमालेमय बनाउने गरी लाग्नुपर्ने उल्लेख गर्दै भ्रमणलाई चिर्न र एमालेका गतिविधिलाई जनताको माझमा दसैंको अवसरमा घरघरमा पुग्न निर्देशन दिनुभयो । संघका इन्चार्ज बस्नेतको नेतृत्वमा विगतमा माओवादीको ज्यादतीलाई परास्त गरेको उल्लेख गर्दै उहाँले माओवादीको वाईसिएललाई टर्च लिएर खोज्नुपर्ने बनाएको स्मरण गराउनुभयो । निर्वाचनमा पराजय भएको निरासालाई शक्तिमा बदल्नुपर्ने जिम्मेवारी युवाको काँघमा रहेको उल्लेख गर्दै उहाँले स्थानीय तहका कमिटीहरुलाई व्यवस्थित र प्रभावकारी ढंगले सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । युवाले आफुले आफैलाई बुझ्न जरुरी रहेको उल्लेख गर्दै उहाँले ८४ को निर्वाचनमा नयाँ शक्ति भनौंदाहरुसँग डराउनुपर्ने आवश्यकता नरहेको सविस्तार उल्लेख गर्नुभयो । केही निरासालाई गालीको माध्यमबाट अगाडी बढ्दैमा नयाँ पार्टीहरुको चल्न नसक्ने उल्लेख गर्दै उहाँले एमाले र संघका जिम्मेवार नेता तथा कार्यकर्ताले दृढताका साथ लागे तीनिहरु विलिन हुने चेतावनी दिनुभयो । संघले राष्ट्रियताको सवालमा शिर नझुकाउने उल्लेख गर्दै महासचिव पुरीले एमालेका स्पष्ट दृष्टिकोण र जनमुखी कदमहरु जनताको माझमा लैजानुपर्नेमा जोड दिनुभयो । आगामी निर्वाचनमा भक्तपुरलाई एमालेमय बनाउने गरी आजैदेखी लाग्न संघका नेता तथा कार्यकर्तालाई निर्देशनसमेत महासचिव पुरीले दिनुभयो ।
कार्यक्रममा बागमती प्रदेशसभाका सदस्य तथा एमाले भक्तपुर जिल्ला कमिटी सदस्य किरण थापाले देश अराजकता र अस्थितामा गएको बताउनुभयो । देश अराजकता र अस्थिता उत्पन्न भएको समयमा नेकपा एमाले र राष्ट्रिय युवा संघले त्यस्तालाई पराजित गराउन सफल भएको स्मरण गराउँदै उहाँले सरकार संविधान तथा कानुन अनुसार चल्न नसकेको आरोप लगाउनुभयो । सरकारकै संरक्षणमा देशमा अराजक तत्वहरुको दिन प्रतिदिन सक्रियता बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै सांसद थापाले अराजक तत्वलाई विस्थापित गराउने गरी राष्ट्रिय युवा संघ देशैभर लाग्नुपर्ने धारणा राख्नुभयो । भक्तपुरमा हुने अराजकताको अन्त्यको लागि एमालेका कार्यकर्तामात्र नभई सम्पूर्ण जनताले जस्तोसुकै वलिदानी दिन पनि तयार उद्घोष गर्दै उहाँले अराजकतालाई प्रतिवाद गरी लखेट्ने चेतावनी समेत दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्