समाचार

भक्तपुरमा गाडीको ठक्करबाट बालिकाको मृत्यु



भक्तपुर, ५ कार्तिक । भक्तपुरमा गाडीको ठक्करबाट बालिकाको मृत्यु भएको छ । 

मध्यपुरठिमी नगरपालिका-७ कमेरेटारस्थित सडकमा बा.२० च ३०३१ नम्बरको गाडीको ठक्करबाट एक जना बालिकाको मृत्यु भएको हो । भारत मोतिहारी घर भई सोही नगरपालिका-७ कमेरेटार डेरा गरी बस्ने गुड्डुलाल साहकी छोरी ४ वर्षीया आदितीको आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । डेरा अगाडि खेलिरहेको अवस्थामा उक्त गाडीले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको हो ।

गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।