राजनीति

राष्ट्रिय युवा संघ लुम्बिनी प्रदेशको अध्यक्षमा खरेल निर्वाचित



बुटवल, २० कार्तिक । नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट सुरज खरेलेको अध्यक्षतामा ६९ सदस्यीय कमिटी निर्विरोध निर्वाचित भएको छ ।

आज राति सम्पन्न अधिवेशनले खरेलेको अध्यक्षतामा ६९ सदस्यीय प्रदेश कमिटी निर्वाचित भएको हो । कमिटीको उपाध्यक्षमा सुरेश भण्डारी, सचिवमा सन्तोष ओली, सह सचिवमा भुपाल शर्मा, सुधा ज्ञवाली, कोषाध्यक्षमा डेन्जिङ रायमाझी निर्वाचित हुनुभएको छ । एमाले पोलिटव्युरो सदस्य तथा संघका इन्चार्ज महेश बस्नेतको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा संघका अध्यक्ष क्षितिज थेवे, उपाध्यक्ष अमित लामा, महासचिव सुमन पुरीलगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै नेता बस्नेतले संघका नेता तथा कार्यकर्ताले सामाजिक, राजनीति तथा सांगठानीक गतिविधि विगतको भन्दा उत्कृष्ट बनाई अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । विपद्को समयलाई पीडित केन्द्रीत हुन निर्देशन दिँदै उहाँले संघका नेता तथा कार्यकर्ता प्रचारमुखी भन्दा पनि सेवामुखी हुनुपर्नेमा जोड दिनुभयो । जाजरकोट तथा रुकुम पश्चिममा भुकम्पका कारण भएको दुःखद् परिस्थितीलाई सहजतामा ल्याउन स्वयम् सेवकीय भुमिका निर्वाह गर्न निर्देश्न दिँदै उहाँले उक्त स्थानमा संघले आर्थिक तथा भौतिक सहयोग गरिरहेको जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘युवा संघका नेता तथा कार्यकर्ताले प्रचारमुखी नभई सेवामुखी तरिकाले भुकम्प पीडितलाई सहयोग गर्नेछन् । त्यो रवि लामिछाने जस्तो र प्रचण्ड जस्तो हेलिकप्टरको स्टाइल पनि गरेर देखाउँदैनौं । देखाउनको लागि नभई जनताको सुख दुखको सारथीको रुपमा युवा संघ खटिसकेको छ । केन्द्रबाट उपाध्यक्ष प्रकाश गौतम र उपमहासचिव राजन थापाको नेतृत्वमा टोलि गइसकेको छ । सिङ््गो कर्णाली प्रदेश कमिटी, बाँँके, बर्दियालगायतका छिमेकी जिल्लाका संघका साथीहरु लागिसक्नुभएको छ । क्यामरा, टिकटक र फेसबुके सहयोग हैन, नतिजामूखी र सेवामूखी काम संघले गर्छ ।’