राजनीति

तिहारलगत्तै आर्थिक गोलमेच गर्ने तयारीमा छु : प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ, २४ कार्तिक  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तिहारपछि आर्थिक गोलमेच गर्ने तयारीमा रहेको बताएका छन् । 

आज रोल्पाको थवाङ गाउँपालिकास्तरीय पार्टी प्रशिक्षण कार्यक्रममा उनले आफू सरकारमा आएपछि अर्थतन्त्रमा राम्रो सुधार आएको पनि बताए । 

उनले भने, “उत्पादन र रोजगारीको कार्ययोजना बनाइएको छ । अहिले सात अर्ब छुट्याइएको छ । छिट्टै थप सात अर्ब थपेर सिधै किसानको हातमा पैसा जाने गरी उत्पादन र रोजगारीलाई प्रवर्धन गर्छौँ,” “म सरकारमा आउँदा देश श्रीलंका बनिहाल्छ कि भन्ने थियो । अहिले त्यो अवस्था छैन । अर्थतन्त्रमा राम्रो सुधार आएको छ । तर, दबाबमुक्त भइसकेको छैन । तिहारलगत्तै आर्थिक गोलमेच गर्ने तयारीमा छु ।”

जनयुद्धको तयारीका लागि ४० वर्षअघि पहिलो पटक थवाङ आएको स्मरण गर्दै उनले अब नयाँ चरणको क्रान्तिको तयारीमा रहेको बताए । 

उनले भने, ‘६ वर्षपछि हाम्रो आधारक्षेत्र थवाङ आउन पाउँदा मलाई हर्ष र गौरवको अनुभूति हुन्छ। म ४० वर्षअघि पहिलोपटक थवाङ आएको थिएँ । ‘थवाङ विचार र क्रान्तिको प्रतीक हो। यसले विचार दियो, गुणात्मक परिवर्तन दियो । एउटा ऐतिहासिक क्रान्तिको नेतृत्व गरेको छ। जनवादी क्रान्तिको चरणमा थवाङले ऐतिहासिक भूमिका खेल्यो। अब हामी नयाँ चरणको क्रान्तिको तयारीमा छौं ।’