राजनीति

राष्ट्रियसभा उम्मेदवार चयनप्रति कांग्रेसमा बढ्यो असन्तुष्टि



काठमाडौँ, २४ पौष ।  नेपाली कांग्रेसले गरेको राष्ट्रियसभा उम्मदेवार छनोट प्रक्रियालाई लिएर नेपाल ट्रेड यूनियन कांग्रेसले असन्तुष्टि जनाएको छ ।

ट्रेड यूनियन कांग्रेसका महासचिव अजयकुमार राईले विज्ञप्तिमार्फत राष्ट्रिय सभाको उम्मेदवारमा क्षमता भएका र अवसर नपाएकाहरुलाई नजर अन्दाज गरिएको बताए । महासचिव राईले पटकपटक अवसर पाएका व्यक्तित्वलाई दोहोर्‍याई तेहर्‍याई राष्ट्रिय सभा जस्तो बौद्धिक वर्गको उपस्थिति रहने स्थानमा अवसर दिनु न्यायसंगत नभएको बताए । मुलुकलाई आवश्यक पर्दा हरेक लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिकामा रहेका ट्रेड युनियनलगायत पेशाकर्मी, बौद्धिक वर्गको राष्ट्रिय सभामा उपस्थिति बन्चित गराइएको बताए ।

मुलुकको संविधानले समेत हरेक वर्ग, क्षेत्र, समुदायको प्रतिनिधित्व सुनिश्चित हुने ब्यवस्था गरेपनि त्यसविपरित कांग्रेसले उम्मेदवार चयन गरेको उनको भनाइ छ । उनले भने, ‘हामी समावेशी उम्मेदवार चाहन्थ्यौँ । यहाँ श्रम क्षेत्र, श्रमिकको आवाज बोल्ने र सहयोगी हुने व्यक्तित्वलाई पाखा लगाइएको छ । पार्टीले फेरि एकपटक श्रमिकलाई बेवास्ता गरेको महसुस गरेका छौँ।’