Banner News

रेमिट्यान्सबाट सरकार आनन्द मानिरहेको छ : अध्यक्ष ओली



काठमाडौँ, २० माघ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनले सत्तामा टिकिरहने काम मात्र गरिरहेको बताएका छन् ।

आज नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले सत्तामा पुग्ने र अडिरहनेबाहेक गठबन्धनले देश र जनताका पक्षमा केही पनि काम नगरेको बताए  ।

उनले सत्ता गठबन्धनले सत्तामा अडिनेबाहेक अरू कुनै राजनीति नगरेको जिकिर गरे । देशका निम्ति केही गर्नेभन्दा पनि सत्ता गठबन्धनले सत्तादेखि सत्तासम्मको राजनीतिक चलखेल गरिरहेको बताए । उनले भने, “देशको अवस्था नाजुक छ । जनताको अवस्था नाजुक छ । युवा विदेश पलायन भइराखेका छन् । उनीहरूलाई रोक्ने होइन, त्यो रेमिट्यान्सबाट सरकार आनन्द मानिरहेको छ,”  “रेमिट्यान्सबाट सरकार चलाउन पाइएको छ भनेर सरकार खुसी भएको हो । तर, रेमिट्यान्सबाट देश चलाउनेजस्तो घातक कुरा अरू केही हुन सक्दैन ।”