राजनीति

ओठे भक्तिले देश बन्दैन : प्रमुख सचेतक गिरी 



काठमाडौँ, २४ माघ । नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले ओठे भक्तिले देश नबन्ने बताएका छन् । 

आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले पार्टीले गरेको मध्यपहाडी लोकमार्गमा संकल्पयात्राका सन्दर्भमा प्रधानमन्त्रीले दिएको जवाफबारे त्यस्तो बताएका हुन् । अभियान सकिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जनताले दिएको सुझाव बुझाएको बताए । 

प्रधानमन्त्रीले उक्त सुझाव मार्गदर्शक हुने बताएको भन्दै देशको समस्या समाधान गर्न इच्छाशक्ति चाहिने बताए । “यो ओठे भक्तिले देशको समस्याको समाधान हुन सक्दैन । देशको समस्याको समाधानका निम्ति दृढ इच्छाशक्ति चाहिन्छ । इमान्दारिता चाहिन्छ । देश र जनतालाई केन्द्रमा राखेर निष्ठापूर्वक जनताको समस्या समाधान गर्ने संकल्प नगर्दासम्म हुँदैन,” उनले भने । 

उनले रोजगार नपाएर, बैंकको ब्याज तिर्न नसकेर युवा बाहिर जानुपरेको बताए । युवा थिए र गए भन्ने ढंगले प्रस्तुत हुन नहुने उनको भनाइ छ । युवाहरूलाई देशमा रोजगारी दिने भनेर अघि नबढे जनताको सेवा गरेको भन्ने नसकिने बताए ।

उनले स्वदेशमा अवसर नदेखेर युवा पुस्तामा निराशा बढिरहेको बताए । यसको परिणाम दैनिक लाखौँ युवा विदेशिरहेको उनको भनाइ छ । उनले भने, “जसरी रुख सुक्यो भने त्यसमा रहेका चराहरू हरियो रुखमा जान्छन् । यो देशमा मेरो भविष्य छैन भनेर पलायन हुने ठाउँमा मान्छे पुगेका छन्,” ।

जनताको सरोकारको विषय, संविधान कार्यान्वयन र ऐन कानुन निर्माण तथा सुशासन समृद्धिका मुद्धामा बहस हुन नसकेको उनको भनाइ छ । सदनलाई प्रभाकवारी बनाउने काममा सबै पक्ष चुकेको बताए । “सरकारको गैरजिम्मेवारिका कारण सदनलाई एक वर्षमा एउटा मात्र ऐन दियौँ । हामीले समितिमा छलफल गर्न पनि सकेनौँ,” उनले भने, “जब संसद् सुशासन दिन प्रतिवद्ध छैन भने अरु निकायमा कसरी सुशासन हुन्छ ।”