काठमाडौँ, २४ माघ । फ्लोरिकल्चर एसोसिएसन नेपालले यस वर्ष तीन लाख ५० हजार स्टिम गुलाफको माग रहेको जनाएको छ । एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले कुल मागमध्ये १० प्रतिशत आन्तरिक उत्पादन हुने र ९० प्रतिशत गुलाफ भारतबाट आयात गर्नुपरेको बताए ।
मागअनुसार स्वदेशमा उत्पादन हुन नसक्दा विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि भारतबाट गुलाफ ल्याइएको उनको भनाइ छ । यस वर्ष रातो गुलाफ प्रतिस्टिम ८० रुपैयाँदेखि एक सयसम्म पर्ने उनले बताए ।
आजबाट प्रणय दिवस सप्ताह सुरु भएको छ । पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा पनि यस दिवसलाई विशेष महत्त्वका साथ लिने गरेको पाइन्छ । प्रणय दिवस फेब्रुअरी १४ तारिखमा पर्दछ । तर, उक्त दिनभन्दा एक हप्ताअघिदेखि नै यो दिवस मनाउने प्रचलन छ ।
प्रेमको प्रतीक मानिने रातो गुलाफ प्रणय दिवसमा प्रेम जोडीले एकअर्कालाई दिएर मनाउने गर्छन् । अध्यक्ष तामाङका अनुसार कुल मागको ६० प्रतिशत काठमाडौं उपत्यकामा र बाँकी ४० प्रतिशत गुलाफ देशका अन्य सहरमा खपत हुने गर्छ । प्रणय दिवसमा मात्रै रातो गुलाफको कारोबार तीन करोड ५० लाख रुपैयाँको हुने उनको भनाइ छ । उनले वार्षिक तीन अर्ब सात करोड रुपैयाँको फूलको कारोबार हुने गरेका जानकारी दिए ।
रातो गुलाफ विशेष गरी काठमाडौं उपत्यकाका तीन जिल्ला र काभ्रेपलाञ्चोकमा व्यावसायिकरूपमा लगाउने गरिएको छन् । फूलको मागमा आएको वृद्धिसँगै विशेष गरी काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा लगभग छ सय ७५ विभिन्न किसिमका पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ ।
व्यावसायिकरूपमा चार सय ५० प्रजातिका गुलाफ नेपालमा उत्पादन हुँदै आएको छ । पुष्प व्यवसायमार्फत ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा लाभ लिएका छन् । रासस
प्रतिक्रिया दिनुहोस्