समाचार

१७ जना जुवाडे पक्राउ



काठमाडौँ, २९ माघ । काठमाडौँमा तास खेलिरहेका १७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार साँझ शंखरापुर नगरपालिका–७, साँखुस्थित बज्रयोगिनी वर्कसप एन्ड रिकन्डिसनमा जुवातास खेलिरहेको अवस्थामा नौजना पक्राउ परेका छन् । शंखरापुर–१, नाङलेभारेका ३७ वर्षीय प्रकाश लामिछानेसहित नौजना पक्राउ परेका हुन् ।

लामिछानेको उक्त वर्कसपबाट नगद दुई लाख ६०० रुपैयाँ र एक बुक ताससहित उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । यस्तै, चन्द्रागिरि नगरपालिका–८, कञ्चन बस्तीस्थित रिङ कारखानामा जुवातास खेलिरहेको अवस्थामा आठजना पक्राउ परेका छन् । सोही ठाउँका ७५ वर्षीय केपी गुरुङसहित आठजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नगद ३४ हजार ८३० रुपैयाँ र ६ बुक ताससहित उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।