काठमाडौँ, ८ फागुन । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नु नेपाली कांग्रेसको प्रमुख नीति हुने बताएका छन् ।
आज पार्टीको महासमिति बैठकमा पार्टीको नीतिगत प्रतिबद्धता प्रस्तुत गर्दै उपसभापति खड्काले सुशासन तथा सदाचार नीति तर्जुमा, बलियो भ्रष्टाचार ऐनको निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनलाई नेपाली कांग्रेसले मूल नीतिको रूपमा स्वीकार गर्ने बताए ।
उनले भने, ‘सुशासन र भ्रष्टाचार नियन्त्रण आम नागरिकको चासो र सरोकारको विषय हो । नेपाली समाजमा असमानता बढाउने प्रमुख कारक भनेको कुशासन र भ्रष्टाचार हो । समुन्नति, सुशासन स्थापना, र भ्रष्टाचार नियन्त्रण एक अर्काका पूरक हुन् । यो नै लोकतन्त्रको, समृद्धिको आधार पनि हो । नेपाली कांग्रेस भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताका साथ अपनाउँदै आफ्ना हरेक गतिविधिलाई पारदर्शी बनाउने अठोट र सङ्कल्प गर्दछ । नेपाली कांग्रेस सम्मिलित वर्तमान सरकारले सुशासनको सम्बन्धमा केही सकारात्मक कदम चालेको छ । यो हाम्रा लागि सुखद् र आशालाग्दो सङ्केत हो । तर यति हुँदाहुँदै पनि सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि कठोर भएर थप काम गर्नुपर्ने आवश्यकता छ । यसका प्रति नेपाली काँगेस आफ्ना प्रतिबद्धता दोहोर्याउन चाहन्छ । देशमा भ्रष्टाचार अन्त्य गरी सुशासन स्थापना गर्न नेपाली कांग्रेसको प्रमुख नीति मध्येको प्रमुख नीति हो हुनेछ । सुशासन तथा सदाचार नीति तर्जुमा, बलियो भ्रष्टाचार ऐनको निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनलाई नेपाली कांग्रेस मूल नीतिको रूपमा स्वीकार गर्दछ ।’
प्रतिक्रिया दिनुहोस्