बारा, ९ फागुन । बाराको जितपुरसिमरा उपमहानगरपालिकास्थित आधाभार जंगलमा ट्रक र बोलेरो पिकअप एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ भने दुर्घटनामा ४ जना घाइते भएका छन् ।
बारा प्रहरीका अनुसार मृत्यु हुनेहरूमा बोलेरो पिकअप चालक नुवाकोट जिल्ला, विदुर नगरपालिका–९ कोल्नी बस्ने ३० वर्षका सुजन मगराती र भारतको बिहार राज्य मोतिहारी जिल्ला मधुवन थानाग्राम कुन्दनपुर बस्ने २८ वर्षका चन्दन चौहान रहेका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका मगराती र चौहानको उपचारको क्रममा बाराको परवानीपुरस्थित एलएस न्यूरो अस्पतालमा मृत्यु भएको हो ।
सिमराबाट हेटौँडातर्फ जाँदै गरेको ना ६ ख ३३५२ नम्बरको ट्रक र हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको बा प्र ०१–०२६ च १३३४ नम्बरको बोलेरो पिकअप आज बिहान एकापसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा भारतको बिहार राज्य मजफ्फरपुर जिल्ला, परखना मोतिपुर थाना, दरुराज ग्राम सिसुवा बस्ने राहुल चौधरी, भारत बिहारकै महाराजगन्ज जिल्ला गोरखपुर बस्ने सुदिप चौहान, सोही ठाउँ बस्ने रामलखन चौहान र ट्रक चालक परवानीपुर गाउँपालिका–४ चौनपुर घर भई हाल जीतपुरसिमरा वडा नम्बर–२ हुलास टोल बस्ने रवि पटेल रहेका प्रहरीले जनाएको छ ।
घाइते सबैको एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ भने घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्