अर्थ

नेप्से परिसूचक १३.२८ अंकले बढ्यो



काठमाडौँ, १४ फागुन । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.२८ अंकले बढेर बन्द भएको छ ।

लगातार घट्दो अवस्थामा रहेको सेयर बजार परिसूचक आज सोमबार भने ०.६७ प्रतिशतले बढेर बन्द भएको हो । आज सेयर बजारको कारोबार खुलेदेखि नै बढ्न थालेको थियो । १९८० अंकबाट सुरु भएको परिसूचक १९९६ अंकसम्म पुगेर फेरि ओरालो लाग्दै १९७३ अंकसम्म आइपुगेको थियो । तर, अन्तिम समयमा उकालो लाग्दै १९९२ अंकमा पुगेर सेयर परिसूचक रोकिएको हो ।

यसअघि, सेयर बजार परिसूचक यही फागुन २ गते ५.९१ अंकले बढेको थियो । त्यसयताका ६ कारोबार दिनमा नेप्से परिसूचक निरन्तर घट्दै आइरहेको थियो । आज भने उत्साहजनक रूपमा बढ्यो । यसक्रममा १६७ वटा कम्पनीको मूल्य बढेको छ भने ७५ कम्पनीको मूल्य घटेको छ । ६ कम्पनीको मूल्यमा भने कुनै घटबढ भएको छैन ।