राजनीति

दाहाल र ओलीबीच नयाँ समीकरणमाथि समीक्षा



काठमाडौँ, २७ फागुन । प्रधामन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ समीकरणबारे समीक्षा गरेका छन् । नयाँ गठबन्धन बनेपछि एक्लाएक्लै भेटवार्तामा सरकार निर्माण, सरकारको विश्वासको मत लिने लगायतका विषय छलफल भएको छ ।

शनिबार बेलुका एक निजी घरमा दुई नेताबीच समसामयिक राजनीतिका विषयमा छलफल भएको स्रोतले जनाएको छ । नयाँ गठबन्धन बनेपछि बहुमत पुर्‍याउन धरमर भएपछि दुई नेताको प्रयासले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सरकारमा सहभागी बनाएका थिए ।

‘दुई नेताबीच नयाँ गठबन्धन बनेपछि अवस्थाबारे समीक्षा भयो,’ स्रोतले भन्यो, ‘नयाँ समीकरण बनेपछि एक्लाएक्लै कुराकानी हुन पाएको थिएन ।’

ओली र दाहालबीच यसअघि नै २०८४ को निर्वाचनसम्म सहकार्य गर्ने गरी नयाँ गठबन्धन बनाउने समझदारी भएको थियो । ‘सहकार्य र सहअस्तित्वका आधारमा अघि बढ्ने दुई नेताको समझदारी छ,’ स्रोतले भन्यो, ‘त्यहीअनुसार एमालेले मन्त्रालय भागबन्डामा प्रधानमन्त्रीलाई सजिलो बनाइदियो ।’

आइतबार जनता समाजवादी पार्टी सरकारमा सहभागी भएपछि मन्त्रिपरिषद्ले पूर्णता पाउँदैछ । मन्त्रिपरिषद्ले पूर्णता पाएपछि फागुन ३० मा सरकारले विश्वासको मत लिने तयारी भइरहेका बेला ओली र दाहालबीच छलफल भएको हो । सरकारले विश्वासको मत लिएपछि गठबन्धनका साझा कार्यक्रम बनाउने र त्यसका आधारमा बजेट ल्याउने तयारी गठबन्धन दलको छ ।

फागुन २१ मा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादीबीच ८ बुँदे लिखित सहमति गरी ‘जनचाहनाअनुरूप सुशासन, विकास र सामाजिक न्यायका आकांक्षा पूरा गर्न, राष्ट्रिय हित र सरोकारलाई प्राथमिकतामा राखेर सन्तुलित र फराकिलो अन्तर्राष्ट्रिय सम्बन्धको विकास गर्न तथा नेपालको संविधानको मर्म र भावनाअनुरूप संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै समृद्धिको दिशामा प्रभावकारी ढंगले अघि बढ्न सहमत’ भएका थिए ।

‘राष्ट्रिय आवश्यकता र जनचाहनाअनुसार सरकारको कामलाई थप प्रभावकारी बनाउन तथा मुलुकको सुशासन, विकास, सामाजिक न्याय र समृद्धिका प्रश्नमा समान सोच राख्ने दलहरूका बीचमा सहकार्य आवश्यक रहेको महसुस गरी नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी, नेपालको सहभागितामा नयाँ संयुक्त सरकार गठन गर्ने । सरकारको नेतृत्व नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने’ सहमति भएको थियो । माओवादीले राष्ट्रिय सभा अध्यक्ष र एमालेले उपाध्यक्ष लिने सहमति भएको थियो । कान्तिपुरबाट