समाचार

कुवेतमा कारको ठक्करबाट तीन नेपालीको मृत्यु



काठमाडौँ, १ चैत । कुवेतमा कारको ठक्करबाट तीन नेपालीको मृत्यु भएको छ । 

कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालका अनुसार अछामको पञ्चदेवल विनायक नगरपालिका–५ का सुरतबहादुर कडायत, धनुषाको मिथिला नगरपालिकाका धीरज मगर र काठमाडौंको नागार्जुन नगरपालिकाका सुजन कार्कीको मृत्यु भएको हो । 

मार्च १२ (मंगलबार)को राति भएको सडक दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । बाटो काट्न लागेको बेला कारले ठक्कर दिएको थियो । महबुला क्षेत्रको समुन्द्री किनारस्थित सडकमा तीन नेपालीलाई कारले ठक्कर दिएको थियो । कार कुवेत नागरिकले चलाएका थिए । उनलाई स्थानीय प्रहरीले पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेको छ । मृत्यु भएका तीनजनामध्ये दुईजनाको परिवार सम्पर्कमा आएको र अछामका कडायतको परिवारसँग भने सम्पर्क हुन नसकेको बताइएको छ । 

परिवार सम्पर्कमा आए सबै शव एक साताभित्र नेपाल पठाउने तयारी गरिएको राजदूत घनश्याम लम्सालले जनाएको छ ।