समाचार

२७ लाख हुन्डीको रकमसहित २ जना पक्राउ



काठमाडौँ, १९ चैत । सर्लाहीबाट हुन्डीको रकमसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सर्लाही प्रहरीका अनुसार मलंगवा नगरपालिका–९ घर भएका २४ वर्षीय कमर राजा र मलंगवा–३ बस्ने मोबाइल पसल सञ्चालक आरिफ अन्सारीलाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट २७ लाख ७५ हजार ९६० रुपैयाँ नगद बरामद गरिएको छ । प्रहरीले उनीहरूको साथबाट लक्ष्मी सनराइज बैंकमा ९ लाख ९० हजार रुपैयाँ दरमा जम्मा गरेको दुई वटा डिपोजिट भौचर पनि बरामद गरेको छ ।

कमर राजालाई पक्राउ गरेर सोधपुछ गर्दा उनले फोन सिटी मोबाइल पसल सञ्चालकले रकम दिएको बताएका थिए । उनको बयानका आधारमा मोबाइल पसल सञ्चालक आरिफ अन्सारी पक्राउ परेका हुन् ।