समाचार

नयाँ वर्षमा ‘फेवा नववर्ष’ महोत्सव हुने



काठमाडौँ, २० चैत । नयाँ वर्षका अवसरमा ‘पर्यटन, संस्कृति र खाना’ को नारासहित पोखराको फेवाताल किनारमा फेवा नव वर्ष महोत्सवको १९ औँ संस्करण हुने भएको छ ।

होटल सङ्घ पोखराले नेपाली नयाँ वर्ष धुमधामका साथ मनाउन र आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न विविध सांस्कृतिक कार्यक्रमसहित महोत्सव गर्न लागेको हो ।

आयोजक होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार यही चैत २९ देखि आगामी वैशाख १ गतेसम्म पर्यटकीय क्षेत्र ड्यामसाइडदेखि हल्लनचोकसम्मको तीन किमी सडक क्षेत्रमा महोत्सव हुने भएको छ ।

नव वर्ष महोत्सवलाई भव्य बनाउने तयारी भइरहेको छ । महोत्सवको प्रमुख उद्देश्य नेपाली मौलिक संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रवद्र्धन गर्नु हो । विविध सांस्कृतिक झाँकी, नृत्य र खानाका स्टल महोत्सवमा राखिने छ । 

महोत्सव आन्तरिक र बाह्य गरी तीन लाख पर्यटकलाई अवलोकन गराउने आयोजकको लक्ष्य छ । महोत्सव तयारीका लागि विभिन्न २१ वटा समिति र क्षेत्रीय संयोजक गठन गरिएको छ । सो अवसरमा होटल सङ्घ पोखरा मातहतका होटलहरुले प्रकाशित गरेको दररेटमा २० प्रतिशतसम्म छुट प्रदान गरिने भएको छ ।

महोत्सवका आकर्षणहरुमा परम्परागत नेपाली खानाको प्रवद्र्धन, सांस्कृतिक झाँकी, लोकदोहोरी, पप कन्सर्ट, स्थानीय कलाकारद्वारा सांस्कृतिक नृत्य, हास्यव्यङ्ग्य प्रहसन र पर्यटक दौड प्रतियोगितालगायत रहेका छन् ।