राजनीति

छानबिन समिति बनाएर आफूलाई निर्दोष साबित गर्ने हक गृहमन्त्रीलाई छ : सांसद शर्मा



काठमाडौँ, २१ चैत । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरण संसदीय छानबिन समिति बनाउनुपर्ने बताएका छन् ।

आजको प्रतिनिधिसभाको बैठक बोल्दै उनले संसदीय छानबिन समितिबाट आफूलाई निर्दोष साबित गर्ने हक गृहमन्त्रीलाई रहेको बताए । 

उनले भने, ‘प्रधानमन्त्री र केही सांसदले उहाँ निर्दोष हुनुहुन्छ भन्नुभयो । अकबर र बीरबलको कथामा चोरको दारीमा सिन्को भनिसक्दा हत्त न पत्त दारी छामेजस्तो किन गर्नुभएको हो, प्रधानमन्त्रीदेखि अरूहरूले किन हो मैले बुझ्न सकिन । गृहमन्त्रीजीलाई पनि त्यहाँ रोष्टममा उभिएर ठूलाे स्वरमा भन्न मन छ कि म निर्दोष छु । संयोगवश दारी पाल्नुभएको छ, दारी छाम्न हतार नगर्नुस् । को दोषी को निर्दोष भनेर न रोष्टमबाट न फ्लोरबाट यहाँबाट यो छुट्ट्याउने विधि हैन, पद्धतिमा यो कहिँपनि उल्लेख छैन । हामी चाहन्छौँ संसदीय छानबिन समिति बनाएर गृहमन्त्रीलाई निर्दोष हुन पाउने जुन हक छ त्यो उपयोग गर्न उहाँलाई दिऊँ ।’

शर्माले संसदीय समिति किन भन्ने प्रश्न उठेको बताउँदै चोरी, ठगी, जालसाँझी जस्तो लाजमर्दो मुद्दामा संसदीय छानबिन आवश्यक नपर्ने र त्यस्ता मुद्दा गाउँको पुलिसले गोर्खे लौरीले समाधान गर्ने बताए । तर यस्तो मुद्दा संसद्‌मा आएको बताउँदै उनले गृहमन्त्रीसँग स्वार्थ बाझिएको बताए ।