काठमाडौँ, ३ बैशाख । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दलहरूबाट महिलाहरूको हित, उन्नति, कल्याण, उपलब्धि हुने अपेक्षा गर्नुपर्ने पीडादायक अवस्था रहेको बताएका छन् ।
आज काठमाडौँमा आयोगद्वारा अन्तर्राष्ट्रिय महिला दिवस २०२४ को अवसरमा आयोजित निर्वाचन र महिला, नेपालको प्रयास, उपलब्धि र कार्यदिशा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले महिलामाथि आक्रमण, विभेद, अवहेलना र नजानिँदो किसिमले महिला हिंसा भइरहेको जिकिर गरे ।
उनले भने, ‘राजनीतिक दलको म नियत नै बेठिक छ त कसरी भनौँ । बडा अफ्ठ्यारो छ भन्न पनि । सफा छ भनौँ नतिजा आउँदैन । दुःखसाथ मैले यहाँ भन्नुपर्छ । हामीले निर्वाचनमा महिला र समावेशी नीति, लैङ्गिक तथा समावेशी नीति भनेर तर्जुमा गर्यौँ सँगै बसेर । यसमा म खुसी पनि व्यक्त गर्दछु । त्यो नीति तयार गर्नको निम्ति अन्तर पार्टी महिला सञ्जालले रात दिन खटेको म सम्झिरहेको छु । खट्यौँ बनायौँ । त्यहाँ धेरै कुरा नै लेखेको थिएन । एउटा सबै राजनीतिक दलहरूमा निर्वाचन आयोग र अन्य काम गर्ने गरी लैङ्गिक सम्पर्क व्यक्ति राखौँ भनेर चिठी लेखेको तीन वर्ष भयो । जवाफ नै आउँदैन, धेरै जसोको । एउटा लैङ्गिक सम्पर्क व्यक्ति पनि तोक्न नसक्ने दलहरूबाट निर्वाचन र समग्रतामा महिलाहरूको हित उन्नति, कल्याण, उपलब्धि हुन्छ भनेर अपेक्षा गर्नुपर्ने पीडादायक अवस्थामा हामी छौँ । महिलामाथि किन यसरी आक्रमण भइरहेको छ, विभेद गरिएको छ, अवहेलना गरिएको छ, नजानिँदो किसिमले महिलाका हिंसाका कामहरू किन भइरहेका छन् ? भन्ने कुरा प्रति पनि हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’
प्रतिक्रिया दिनुहोस्