Banner News

सुप्रिम सहकारीबाट गृहमन्त्री लामिछानेले गैरकानूनीरुपमा दुई करोड लिएको पुष्टि



भैरहवा, ४ वैशाख । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीबाट गैरकानुनीरुपमा दुई करोड रुपैयाँ ऋण लिएको अनुसन्धानबाट पुष्टि भएको छ । 

रुपन्देही जिल्ला प्रहरी कार्यलयले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले सोमबार जिल्ला अदालतमा पेश गरेको अभियोग पत्रमा लामिछानेले २ करोड रुपैयाँ ऋण लिएको उल्लेख छ ।

गितेन्द्रबाबु (जीबी) राई नेतृत्वमा बुटवलमा खुलेको सुप्रिम बचत तथा ऋण सहकारीबाट गैरकानुनी रुपमा रवि लामिछानेको नाममा ऋण प्रवाह भएको अभियोगपत्रमा उल्लेख छ । जिल्ला अदालतमा पेश गरिएको अभियोगपत्रमा ‘लामिछानेका नाममा ऋण खडा गरी २०७७ चैत १८ गते गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा सेवा शुल्क ४ लाख कट्टी गरी १ करोड ९६ लाख रुपैयाँ जम्मा गरिएको’ उल्लेख छ ।

अनुसन्धानको मिसिलमै रविले सहकारीबाट गैरकानूनी रुपमा रकम लगेको प्रमाणहरु उल्लेख गरेपनि प्रहरीले लामिछानेसँग सामान्य सोधपुछ समेत पनि गरेको छैन । उनलाई प्रहरीले अभियुक्त बनाएन भने सरकारी वकिलको कार्यालयले पनि त्यसमा कुनैपनि प्रतिक्रिया नदिई मुद्दा दायर गरेको छ ।

सहकारी ठगी मुद्दामा प्रहरीले अनुसन्धान गरी दायर गरेको मुद्दाको अभियोगपत्रमा गोर्खा मिडिया नेटवर्क प्रालिमा सहकारीबाट १४ करोड २९ लाख रुपैयाँ लगानी भएको देखिएको छ । गोरखा मिडिया नेटवर्क त्यही संस्था हो, जसले ग्यालेक्सी टिभी सञ्चालनमा ल्याएको थियो । जसमा रवि लामिछानेको नाममा १५ प्रतिशत शेयर थियो ।

सहकारीमा रकम बचत गरेका १८ सय २८ जना बचतकर्ताहरुको उजुरीपछि सहकारीको रकम हिनामिना, अपचलन र ठगीमा इलाका प्रहरी बुटवलले अनुसन्धान गरेको थियो ।