समाचार

पर्सा निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जबीच सहकार्यको तयारी



काठमाडौँ, १० वैशाख । पर्सा राष्ट्रिय निकुञ्जले पर्यटन प्रवर्द्धन गर्न चितवन राष्ट्रिय निकुञ्जसँग सहकार्यको तयारी गरेको छ ।

चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकलाई एउटै टिकटमा पर्सासम्म र पर्सा निकुञ्ज प्रवेश गर्ने सहज ढङ्गले चितवनसम्म घुम्न सकिने व्यवस्था मिलाउन लागिएको हो ।

४० औँ वार्डेन सम्मेलनबाट पर्सा–चितवनलाई एउटै प्याकेज बनाएर पर्यटन प्रवर्द्धन गर्ने विषयमा निर्णय भइसकेको पर्सा राष्ट्रिय निकुञ्जले जनाएको छ । सङ्ख्यामा कम भए पनि चितवन राष्ट्रिय निकुञ्जमा पाइने सबै खाले दुर्लभ वन्यजन्तु, चराचुरुङ्गी पर्सा राष्ट्रिय निकुञ्जमा पाइन्छन् ।

यी दुवै निकुञ्जलाई सँगसँगै लैजान सके पर्यटनमा ठुलो फट्को मार्न सकिने बताइएको छ ।