राजनीति

बागमतीको सर्वदलीय बैठक बस्दै



मकवानपुर, २१ वैशाख ।  बागमती प्रदेशसभा बैठक सञ्चालनका लागि आज सर्वदलीय बैठक बस्दै छ ।

सभामुख भुवनकुमार पाठकले प्रदेशसभा बैठक सञ्चालनका लागि दिउँसो १ बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन् । सर्वदलीय बैठक प्रदेशसभा सचिवालय हेटौँडामा बस्ने तयारी गरिएको छ । सत्ता समीकरण परिवर्तन पछि दलहरू बिचको विवाद हल गर्ने र संसद् बैठक सञ्चालनको लागि सभामुख पाठकले सर्वदलीय बैठक आह्वान गरेका हुन् । बैठकमा संसद् सञ्चालन, विषयगत संसदीय समितिको सभापति चयन लगायतका विषयमा छलफल हुने सचिवालयले जनाएको छ । 

बैठकमा समितिको सभापति चयनका लागि दलहरू बिच सहमति जुटाउने गरी छलफलका सर्वदलीय बैठकमा हुने जनाइएको छ ।   प्रदेशसभाको वर्षे (बजेट अधिवेशन) आह्वानका विषयमा पनि छलफल हुनेछ । आगामी आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रम पेस गर्न संसद् बैठक आह्वानका विषयमा छलफल हुनेछ ।  गत चैत १९ गते यता प्रदेशसभा बैठक सञ्चालन हुन सकेको छैन । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको चालु अधिवेशन वैशाख १२ गते राति १२ बजेबाट अन्त्य गरिएको थियो ।