काठमाडौँ, २१ वैशाख । जापानमा रोजगार र अध्ययनका लागी पठाउँछौं भनेर ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ घर भएका राजन श्रेष्ठ र झापाका गौरादह नगरपालिका–२ घर भएका ४६ वर्षीय ईश्वरी पाण्डेलाई पक्राउ गरेको हो ।
श्रेष्ठलाई कागेश्वरी मनोहरा नगरपालिका स्थित बेशिगाउँ र पाण्डेलाई अनामनगरबाट पक्राउ गरेको हो । उनीहरुले २ सय १९ जनाबाट ३ करोड ३७ लाख असुल गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । अर्काको नागरिकता प्रयोग गरेर उनीहरुले पुतलीसडकमा नियोनी एजुकेशन प्रालि नामको कन्सल्टेन्सी खोलेका थिए । राजन श्रेष्ठले नारायणबहादुर राईको नागरिकता दुरुपयोग गरेर सानिमा बैंकमा खाता खोलेको भेटिएको छ । उदयपुरका राईको नागरिकता दुरुपयोग गरेर श्रेष्ठले बैंकको केवाइसी फारममा चाहिँ आफ्नो फोटो टाँसेको प्रहरीले जनाएको छ ।
राई पठाओ राइडर हुन् । ईश्वरी पाण्डेले बझाङका पर्वराज पाण्डेको नागरिकता दुरुपयोग गरेको भेटिएको छ । आरोपीहरुले प्रतिव्यक्ति ४ लाखदेखि ७ लाख उठाउने गरेको भेटिएको छ । अर्काको नाममा बैंका खाता खोलेर ठगीको रकम उनीहरुले ती खातामार्फत लेनदेन गर्ने गरेका हुन् । उनीहरुसँगै ठगीमा संलग्न अर्का एकजना फरार छन् ।
प्रतिक्रिया दिनुहोस्