काठमाडौँ, २९ वैशाख । चक्रपथ दोस्रो खण्ड विस्तार गर्ने चर्चा भएको ६ वर्षभन्दा बढी भयो । तर अहिलेसम्म विस्तारको कामले गति लिन सकेको छैन । चीनले पूर्वतयारीको काम सकेपछि आउने जनाए पनि काम सकियो, टोली आएको छैन । थप काम अघि बढाउन अहिले कुनै समस्या नभएको सडक विभागको दाबी छ । पूर्वतयारीका लागि जथाभाबी सडक भत्काइएका कारण धूलोले यात्रुलाई भने सास्ती थपेको छ । एक वर्षयता यो समस्या कलंकीदेखि बसुन्धरा कल्भर्टसम्मको विभिन्न खण्डमा छ ।
विस्तृत परियोजना रिपोर्ट (डीपीआर) तयार पार्ने भनेको एक वर्ष बित्दा पनि चिनियाँ कम्पनीले पूरा गर्न सकेको छैन । अध्ययनदेखि विस्तारसम्मको काम चीन सरकारको अनुदानबाट हुने सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख विजय जैसीले बताए । ‘यो सडक विस्तार गर्ने कुरा चर्चामा आएको धेरै भइसकेको छ । बीचमा कोभिड–१९ ले गर्दा दुई/तीन वर्ष काम अघि बढाउन समस्या भएको थियो,’ उनले भने, ‘विस्तारबारे चीन सरकारबाट पास गरेर नेपाल सरकारको अर्थ मन्त्रालयमा पेस गरिएको छ ।’
छिट्टै नै दुई देशका उच्च अधिकारीले चक्रपथ विस्तार गर्नेबारे संयुक्त रूपमा हस्ताक्षर गरी काम अघि बढाइने उनको दाबी छ । दुई देशका उच्च अधिकारीले हस्ताक्षर गरेपछि डीपीआरको काम टुंग्याइने जनाइएको छ । यसका लागि अर्थ मन्त्रालयबाट छिटो टुंग्याउने काम गर्नुपर्ने विभागले बताएको छ । समयमै डीपीआर नबन्दा विस्तारको कामले गति लिन नसकेको हो । दुई महिनाभित्र डीपीआर तयार पार्ने भन्दै ०७९ फागुनमा चीनको हेनान कम्युनिकेसन्स् प्लानिङ एन्ड डिजाइन इन्स्टिच्युट कम्पनीको प्राविधिक टोली नेपाल आएको थियो । टोलीले अध्ययन गरेर गएको थियो । तर टोलीले त्यसको रिपोर्ट अहिलेसम्म दिएको छैन ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त्यो बेलै दुई महिनाभित्र डीपीआरको काम सकिने जनाएको थियो । अहिलेसम्म डीपीआर निर्माणमा कुनै प्रगति नभएको र दुई देशका उच्च अधिकारीले हस्ताक्षर गरेपछि मात्र उक्त काम सुरु गर्ने बुझिएको प्रमुख जैसीले बताए । आठ लेन सडक चीनले बनाउनेछ । सर्भिस लेन भने नेपाल सरकारले बनाउनेछ । साइट क्लियर र सर्भिस लेन बनाउन पूर्वतयारीको काम सकिसकेको उनले सुनाए ।
‘अहिले सर्भिस लेन सडक बनाउन थालिए भविष्यमा फेरि मुख्य सडक बनाउँदा बिग्रिने र भत्किने भएकाले नबनाइएको हो, जसले गर्दा धूलोको समस्या भएको छ,’ उनले भने, ‘पहिला तयारी भएन भनेर चीनले धेरै गुनासो गरे पनि अहिले कुनै समस्या छैन ।’ धूलो उड्ने सडकमा दैनिक पानी हाल्ने गरिएको सडक विभागको दाबी छ ।
‘अब दुई देशका मन्त्रीबीच हस्ताक्षर गर्न समय लाग्दैन,’ उनले भने, ‘छिट्टै सम्झौता गर्ने तयारी छ, सम्झौता भएको दुई/तीन महिनाभित्र परामर्शदाता छानेर डिजाइन गर्न चीनले टोली पठाउनेछ ।’ यसरी आउने टोलीले ६ महिनाभित्र डिजाइन सक्ने र आगामी आर्थिक वर्षभित्र निर्माणमा जान सकिने उनले सुनाए । चीन अहिले छिटो गरौं भन्ने पक्षमै रहेकाले अब धेरै ढिला नहुने उनको दाबी छ ।
नेपाल सरकारबाट बनाउनुपर्ने नाली, सर्भिस लेन निर्माणको काम भइरहेको छ । चक्रपथ विस्तारअन्तर्गत नेपाल सरकारले चीनसँग कलंकीदेखि चाबहिलस्थित धोबीखोला पुलसम्मको ११.६ किमि सडक नै विस्तार गर्न सुरुमै आग्रह गरेको थियो । चीनसँग सन् २०१८ मा भएको जीटूजी सम्झौतामा भने बसुन्धरासम्म मात्र सडक विस्तार भनिएको थियो । सोहीअनुसार चीनले कलंकीदेखि बसुन्धरा कल्भर्टसम्म मात्र विस्तारको काम गर्नेछ, जसको दूरी ८.२ किमि छ ।
डीपीआर टुंगिएपछि चीनसँग सम्झौता गरेर उसैले निर्माण गर्ने गरी काम थालिने जनाइएको छ । नेपाल सरकारले दोस्रो चरणमै कलंकीदेखि धोबीखोला (चाबहिल) सम्म निर्माण गर्न माग गरेको थियो । चीनले भने यसलाई तेस्रो खण्डमा काम गर्ने उल्लेख गर्दै आएको छ ।
कलंकीदेखि सीतापाइलासम्म अहिले चार लेन र सीतापाइलादेखि चक्रपथ खण्डमा दुई लेन सडक छ । यसअघि चक्रपथ विस्तारको पहिलो खण्ड कोटेश्वर–कलंकीसम्म १०.३९ किमि सडक चीनले नै आठ लेनमा विस्तार गरिदिएको हो, जुन खण्ड विस्तार गरेर ०७५ माघमा चीनले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । कान्तिपुरबाट
प्रतिक्रिया दिनुहोस्