समाचार

अनलाइन सट्टेबाजीमा संलग्न एक युवक पक्राउ



काठमाडौँ, ३१ वैशाख । प्रहरीले अनलाइन सट्टेबाजीमा संलग्न एक युवकलाई पक्राउ गरेर आज सार्वजनिक गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २४ वर्षीय अनिल ढुंगानालाई पक्राउ गरेर सोमबार सार्वजनिक गरेको हो । वानएक्स बेट, जुवा३६५ जस्ता अनलाइन बेटिङ वेबसाइटहरुको प्रयोग गरी उनले २ अर्ब १ करोड भन्दा बढीको कारोबार गरेको खुलेको कार्यालयले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । 

उनले ५५ वटा बैंक खातामार्फत उक्त कारोबार गरेको पाइएको छ । पक्राउ परेका ढुंगाना काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ८ घर भइ हाल भक्तपुरको सूर्यबिनायकमा बस्दै आएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका नेपाली युवक ढुंगानाले भारतीय परिचयपत्रहरु समेत बनाएको पाइएको छ । उनले अनिल साहको नामबाट भारतीय आधार कार्ड, प्यान कार्ड, दिल्ली मेट्रो कार्डसमेत बनाएको पाइएको प्रहरीले जनाएको छ ।

यस्तै उनको साथबाट एचडीएफसी बैंकको चेकबुक, एटीएम कार्डलगायत एयरटेल कम्पनीको सिमकार्ड समेत बरामद भएको छ । उनले सामाजिक सञ्जाल फेसबुकमा जुवा ३६५ नामक फेसबुक पेज समेत खोलेर आबद्ध भएका साथीहरुलाई बेटिङ जुवामा सहभागी गराइ वुवा ३६५ बेटिङ वेबसाइटको आधिकारिक मालिक आफैँ रहेको भनि युजरहरुलाई विश्वास दिलाएर उक्त कारोबार गरेको पाइएको प्रहरीले जनाएको छ ।