अर्थ

परिसूचक नेप्सेमा ९.५४ अंकले घट्यो  



काठमाडौँ, २ जेठ । सेयर बजार परिसूचक नेप्सेमा ९.५४ अंकको गिरावट भएको छ । अघिल्लो दिन २८ अंकमाथिले बढेको नेप्से सूचक बुधबार ९.५४ अंकले घट्दै २ हजार १७.९७ अंकमा झरेको हो । 

बुधबार क वर्गको सेन्सेटिभ इन्डेक्स समेत २.१७ अंकले घट्दै ३५८.०९ अंकमा झरेको छ । यस्तै अघिल्लो दिनको तुलनामा बुधबार कारोबार समेत घट्दै ३ अर्ब ७० करोड ८४ लाख रुपैयाँ बराबरको ८४ लाख ९० हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको नेप्सेले जनाएको छ । 

बुधबार म्यानु एण्ड प्रो, म्युचुअल फण्ड र ट्रेड्रिङ्ग बाहेक १० वटा उपसूचक ऋणात्मक भएका छन् । तथापि, सबै घटेका उपसूचक १ प्रतिशत भन्दा कमले घटेका छन् भने बढेका सूचकहरू क्रमशः १.४० प्रतिशत, ०.१७ प्रतिशत र १.१६ प्रतिशतले उचालिएका छन् । बुधबार उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र युनिक्यू नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य समान १० प्रतिशतले बढेको छ भने यता गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य १० प्रतिशतले घट्न पुगेको छ ।