काठमाडौ ४ जेठ । संसद भवनमा बसेको विपक्षी दलको संयुक्त बैठकले संसदीय छानबिन समिति बनाउनुपर्ने विषयमा जोड दिएको छ । सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नको लागि समिति गठन गर्नुपर्ने आवश्यकता रहेको निष्कर्ष निकालेको राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बताए ।
शाहीका अनुसार बैठकमा सभामुख देवराज घिमिरेको भूमिकालाई लिएर पनि छलफल भयो । बैठकमा राप्रपाले गृहमन्त्रीलाई सदनमा बोल्न दिनुपर्ने प्रस्ताव राखेको थियो । तर, यस विषयमा ठोस सहमति भने भएन ।
बोल्न दिने विषयमा कांग्रेसले सकारात्मक प्रतिक्रिया जनाएको तर, निर्णय नभइसकेको शाहीले बताए । केही दलले भने यथास्थितिमा बोल्न दिन नहुने भनाइ राखेका थिए ।
हिजोको बैठकमा कांग्रेस र एमाले सांसदहरूबीच हातहालाहालको स्थिति भएपछि आज कांग्रेस संसदीय दलको बैठकलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाले राप्रपा, जसपा नेपाललगायतका नेतासँग छलफल गरेका थिए ।
बैठकमा कांग्रेसबाट सभापति देउवासहित, उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक, नेता शशांक कोइराला, जसपामा अध्यक्ष उपेन्द्र यादव, नेता राजकिशोर यादव, राप्रपाका नेताद्वय धवलशम्शेर राणा र ज्ञानेन्द्र शाही, लोसपा अध्यक्ष महन्थ ठाकुर र शरदसिंह भण्डारी सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्