Banner News

सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैन : रवि लामिछाने



काठमाडौँ, ६ जेठ । गृहमन्त्री रवि लामिछानेले आफू सूर्यदर्शन लगायतका सहकारीको कुनै रकम अपचलन नगरेको बताएका छन् ।

आज प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री रवि लामिछानेले आफू गोर्खा मिडिया प्रा.लीमा रहँदा सहकारीबाट ऋण लिने विषयमा कुनै निर्णय नभएको, ऋण लिने प्रक्रियामा आफ्नो कुनै निवेदन, हस्ताक्षर, आफ्नो बैठक खातामा पैसा आएको देखाउन चुनौती दिए । 

उनले जीबी राईले गरेका फोहोरको भारी आफूमाथि नथोपर्न आग्रह गरे । आफूमाथि मिडियाबाजी गरेर मिडियाको हेडलाइनका आधारमा कांग्रेसले संसद् अवरुद्ध गरेको उनले बताए ।

त्यस्तै लामिछानेले नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम नतोकी कृषि अनुदानमा बाख्रा पाल्नेहरूलाई सदनबाट बाहिर पठाउन माग गरेका छन् । गगन थापाले दोहोरो नागरिकता बोक्ने र सहकारीको रकम अपचलन गर्नेहरूलाई सदनबाहिर पठाएर छानबिन र निर्दोेष भए माला लगाएर स्वागत तथा दोषी भए कारबाही गर्न माग गरेका थिए ।

त्यसको जवाफमा आइतबार संसद् बैठकमा लामिछानेले सरकारको अनुदान लिएर कुखुरा, माछा, खसीबाख्रा पाल्नेलाई सदनबाहिर पठाउन माग गरेका हुन् ।


लामिछानेले नियमित कानुनको प्रक्रियालाई पन्छाएर संंसदीय छानबिनका निम्ति बाध्य पार्नु अवैधानिक भएको जिकिर गरेका छन् ।

उनले अत्याचार भएको र त्यो सहन तयार रहेको बताए । “…संसदीय छानिबनका लागि बाध्य पार्ने कार्य अनुचित हो । अनैतिक हो । अराजनैतिक हो । अवैधानिक हो । अन्याय हो । अति हो र अत्याचार गर्नु हो,” उनले भने, “म अत्याचार, अन्याय सहन तयार छु ।”