राजनीति

रवि लामिछानेले संसद दिएको अभिव्यक्ति गैरजिम्मेवार र असत्य  : कांग्रेस



काठमाडौँ, ७ जेठ । आइतबार गृहमन्त्री रवि लामिछानेले प्रतिनिधि सभामा दिएको अभिव्यक्तिलाई गैरजिम्मेवार र असत्य भएको बताउँदै नेपाली कांग्रेसले त्यसको भर्त्सना गरेको छ ।

आज बसेको कांग्रेस संसदीय दलको बैठकले अभिव्यक्तिप्रति प्रधानमन्त्रीको ध्यानाकर्षणसमेत गराएको हो ।

सहकारी ठगीको अपराधमा संलग्न गृहमन्त्रीले अरूलाई प्रश्न सोध्ने, विभिन्न तथाकथित विषयमा अरूलाई देखाएर आफूमाथिको अनुसन्धान र छानबिनबाट भाग्ने प्रयत्न गरेको बैठकले ठहर समेत गरेको छ । बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारका गृहमन्त्री रवि लामिछानेले हिजो २०८१ साल जेठ ६ गते प्रतिनिधि सभामा बोल्नु भएको विषयलाई नेपाली कांग्रेसले अत्यन्त गम्भीर रूपले लिएको छ । गृहमन्त्री जस्तो महत्त्वपूर्ण पदमा बसेको व्यक्तिले गरेको अशिष्ट, असत्य, भ्रामक, कपोकल्पित, गैरजिम्मेवार र हिंस्रक अभिव्यक्तिको यो बैठक घोर निन्दा र भर्त्सना गर्दछ ।’ 

बैठकले लामिछानेले नेपाली कांग्रेसका विभिन्न नेताप्रति लक्षित गरी दिएको अभिव्यक्तिको छानबिन, अनुसन्धान र विषय प्रमाणित गरेर देखाउन चुनौती समेत दिएको छ । लामिछाने गृहमन्त्री भए पश्चात् सहकारी ठगीबारे छानबिन तथा अनुसन्धान अवरुद्ध गरिएको आरोप समेत लगाइएको छ ।