Banner News

टीओआरको ड्राफ्ट ‘फाइनल’ गर्नुअघि आन्तरिक छलफल गर्ने



काठमाडौँ, ८ जेठ । सहकारी छानबिन गर्ने संसदीय समितिको कार्यादेश (टीओआर) टुङ्गो लगाउन गठित कार्यदलका सदस्यहरूले आआफ्नो पार्टीमा छलफल गरेर टीओआरको ड्राफ्टलाई अन्तिम रूप दिने भएका छन् ।

आज बिहान बसेको कार्यदलको बैठकमा सत्ता र  प्रतिपक्षका कार्यदल सदस्यहरूले आआफ्नो धारणा राखेका थिए । बैठकपछि दुवै पक्षका नेताहरूले छलफल सहमति नजिक पुगेको बताएका छन् । 

उनीहरूले पार्टीका शीर्ष नेताहरूसँग पुनः छलफल गरेर दिउँसो बस्ने कार्यदलको बैठकमार्फत समितिको कार्यादेश (टीओआर) लाई  टुङ्ग्याउने बताएका छन् । एमाले प्रमुख सचेतक समेत रहेका महेश बर्तौलाले टीओआरमा मध्यविन्दु खोज्न दुवै पक्ष सहमत भएको बताए ।

‘आजको छलफलमा हामी धेरै विषयमा अगाडि बढेनौँ । तर असहमतिका विषय न्यारोडाउन गर्न भने सहमत भयौँ’, बर्तौलाले भने, ‘मिडप्वाइन्ट खोज्न सहमत भयौँ ।’ उनले कार्यदलका सदस्यहरूले आआफ्ना नेताहरूसँग आन्तरिक छलफल गरेर पुन बैठक बसेर सहमति हुने बताए । ‘आन्तरिक छलफल गर्ने र त्यसपछि पुन कार्यदल बैठक बस्ने सहमति भएको छ’, बर्तौलाले भने, ‘छलफल अत्यन्त सकारात्मक भएको छ । कार्यदलमा सहमति गरेर हाउसको गतिरोध पनि अन्त्य गर्ने सहमति भएको छ ।’