समाचार

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहरिएका कर्मचारी मृत फेला



काठमाडौँ, ११ जेठ । सुरक्षण मुद्रण केन्द्रले गरेको सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा भ्रष्टाचार भएको प्रकरणमा दोषी ठहरिएका एक जना कर्मचारी मृत फेला परेका छन् ।

जिल्ला प्रहरी परिसर, भक्तपुरका अनुसार सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेल बिहीबार झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । घरमा सुसाइड नोटसमेत फेला परेकाले आत्महत्या गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

प्रहरी स्रोतका अनुसार, सुसाइड नोटमा आफ्नो मृत्युको जिम्मेवारी आफैं भएको भन्दै कसैको दोष नरहेको लेखिएको छ ।

प्रहरी वृत्त, ठिमीका अनुसार, केएमसी मेडिकल कलेज दुवाकोटमा बिहीबारै उनको शवको पोष्टमार्टम भइसकेको छ । परीक्षणको प्रतिवदेन आउन बाँकी छ ।