समाचार

चार सवारी साधन ठोक्किँदा एकको मृत्यु, दर्जनौँ जना घाइते



काठमाडौँ, १४ जेठ । चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा गए राति चार सवारी साधन एकापसमा ठोक्किएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । गए राति साढे १२ बजे काठमाडौँबाट प्युठानतर्फ जाँदै गरेको बा४ख ९०८६ नम्बरको बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना३ख ७९१५ नम्बरको ट्रक, काठमाडौँबाट महोत्तरीतर्फ आउँदै गरेको ना७ख ३२४८ नम्बरको बस र वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना६ख ८९६८ नम्बरको बस एकापसमा ठोक्किएका थिए । दुर्घटनामा परी अन्दाजी १७ वर्षीय किशोरको मृत्यु भएको छ । उनको परिचय खुल्न सकेको छैन ।