समाचार

असार १ देखि पशुपतिनाथ मन्दिरका चारै ढोका खुला गरिने



काठमाडौँ, १७ जेठ । धार्मिक एवं परम्परागत पूजा एवं अनुष्ठान विधिलाई कायम राखेर आगामी असार १ गतेदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलिने भएको छ । 

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् बैठकले धार्मिक पक्षलाई विधिवत् अघि बढाउँदै दर्शनार्थीको सुविधाका लागि पूर्व, पश्चिम, उत्तर र दक्षिणका मूलढोका खुला गर्ने निर्णय गरेको हो । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं परिषद्का अध्यक्ष हितबहादुर तामाङले पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ४ देखि ८ बजेसम्म खोल्ने निर्णय भएको बताएका हुन् । भक्तजनको बढोत्तरी भएका कारण दर्शन र पूजापाठ सहज, सुरक्षित र व्यवस्थित गर्न यो निर्णय गरिएको उनले जनाए ।

मन्त्री तामाङले दक्षिण एसिया र विश्वका विभिन्न देशबाट आउने हिन्दु धर्मावलम्बीलाई पशुपतिनाथ मन्दिरमा पूजाआराधना गर्न सहजता प्रदान गर्ने योजनाका साथ परम्परालाई कायम राखेर व्यवस्थापकीय पक्षमा नवीनतम् कार्यक्रम ल्याइएको दाबी गरे । 

“धार्मिक पर्यटकलाई बढीभन्दा बढी भित्र्याउन धेरै कुरा व्यवस्थित गर्नुपर्नेछ । अहिले दर्शन गर्ने वातावरण सहज बनाउनुपर्ने देखियो । त्यसैले मन्दिरमा आउने हरेक भक्तजनले सहजै दर्शन गर्न पाउने व्यवस्था मिलाएका हौँ,” उनले भने । 

कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले प्रत्येक दर्शनार्थीलाई व्यवस्थित रूपबाट पशुपतिनाथको दर्शन गर्न सक्ने व्यवस्था मिलाउने मन्दिर तथा पूजा व्यवस्था नियमावलीअनुसार यो निर्णय गरिएको बताए । उनका अनुसार अहिलेसम्म पश्चिमतर्फको ढोका बिहान ४ बजेदेखि खुला हुने र उत्तर, पूर्व र दक्षिणका ढोका बिहान ९ः३० बजेदेखि ११ः३० सम्म खुला गरिन्छ ।