Banner News

अध्यक्ष ओलीद्वारा बजेटमा कमजोरी भेटिए आलोचना गर्न निर्देशन



काठमाडौँ, १९ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि संसद्‌मा पेश गरेको बजेटमा केही कमजोरी भेटिएमा त्यसको आलोचना गर्न सकिने बताएका छन् । 

आज नयाँ बानेश्वरस्थित ल्होत्से हलमा भएको एमाले संसदीय दलको बैठकमा सांसदहरूलाई सम्बोधन गर्दै ओलीले आफ्नो क्षेत्रमा अनियमित ढङ्गले बजेट वितरण गरिएको भए आवाज उठाउन सकिने बताएका हुन् । 

उनले भने– ‘बजेटमाथि आलोचना नै गर्न नहुने भन्ने होइन । बजेटमा रहेको कमीबारे माननीयज्यूहरूले आफ्नो क्षेत्रमा, जिल्लामा, प्रदेशमा हिजोको अवस्थामा र आजको अवस्थामा के कमी कमजोरी छ, के बढ्नुपर्थ्यो वा के घट्यो त्यस्ता विषयहरूमा स्वभाविक रूपमा प्रश्नहरू उठाउन सक्नुहुन्छ ।’

ओलीले अगाडि भने– ‘आफ्नो क्षेत्रमा भइरहेको आयोजनामा बजेट  कटौती भएको छ भने बजेटको सम्पूर्ण आकार नघटेको अवस्थामा आयोजनाका लागि छुट्टाइएको रकम घट्यो भने त्यसको औचित्य के हो त ? कुनै आयोजनाका लागि हामी विशेष नै काम गर्दैछौँ कि ? नयाँ आयोजना, ठूलो आयोजना जसले एउटा रूपान्तरकारी काम गर्छ त्यस्तो आयोजना, त्यसमा ठुलो किसिमको बजेट छुट्टाउनुपर्यो भन्ने कुराहरू छन् कि ? यस्ता कुराहरू पनि हेर्नुपर्छ । यदि त्यस्तो छैन भने एउटालाई अनुकूल र अर्कोलाई प्रतिकूल हुनेगरी भएको छ भने पनि बोल्नुपर्छ ।’