काठमाडौँ, २० जेठ । नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
यस वर्षको मनसुन हाल भारतको उत्तर पूर्वी भू-भाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किम सम्म आइपुगेको छ। नेपालको पूर्वी भू-भागमा मनसुन भित्रिनको लागि अझै केही दिन लाग्ने देखिएको छ । नेपालको पूर्वी भू-भागमा मनसुन आगमन हुने सरदर मिति जुन १३ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्