राजनीति

उद्योगीहरूद्वारा प्रधानमन्त्रीसमक्ष बजेटबारे सुझाव पेश



काठमाडौँ, २१ जेठ । नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन कुमार सारडा र मोरङ उद्योग वाणिज्य संघका अध्यक्ष अनुपम राठीको नेतृत्वमा एक प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेको छ । 

सो प्रतिनिधिमण्डलले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटले स्वदेशी उद्योगहरूमाथि नकारात्मक प्रभाव परेको जनाएका छन् । उनीहरूले बजेटमा स्पन्ज आइरन, स्क्र्यापलगायतका कच्चा पदार्थमा गरिएको करवृद्धिले स्टील उद्योगहरूमा गरिएको करोडौं रुपैयाँको लगानी डुब्ने बताए । स्पन्ज आइरनमा कम्तीमा एक तहको भन्सार सुविधा नदिएसम्म मेलटिङ प्लान्ट सञ्चालन गर्न नसकिने उनीहरूको भनाइ छ ।

यसैगरी, खाद्यान्न कच्चा पदार्थमा लगाइएको अग्रिम आयकरले खाद्य उद्योगहरूको लागत बढ्ने र प्रतिस्पर्धात्मक क्षमतामा असर पर्ने बताइएको छ । उद्योगीहरूले चामल उद्योगको संरक्षण, दाल र मटरको आयात सहजीकरण, मालवाहक सवारी साधनमा अतिरिक्त कर नलगाउन लगायतका सुझावहरू पेस गरेका छन् ।