राजनीति

वातावरण संरक्षण तथा सुधारका लागि नेपालले उल्लेखनीय उपलब्धि हासिल भएको छ: राष्ट्रपति पौडेल



काठमाडौँ, २३ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले वातावरण संरक्षण तथा सुधारका लागि नेपालले अवलम्बन गरेको राष्ट्रियस्तरका वन, वातावरण तथा जलवायु परिवर्तन नीतिहरूबाट निर्देशित विभिन्न कार्यक्रमले वन तथा वातावरणको क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताएका छन् ।

आज विश्व वातावरण दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर यो दिवस मनाइँदै छ । यस दिनको अवसरमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले मुलुकमा पूर्वाधार विकास गर्दा दिगो विकासका अवधारणालाई आत्मसात् गर्दै वातावरण संरक्षणको साझा लक्ष्यमा अघि बढ्न प्रेरणा मिलोस् भन्ने शुभकामना दिएका छन् । विज्ञानको नवीनतम विकासको उदाहरणस्वरुप उत्पादन भएको प्लाष्टिक पोलिमरको अव्यवस्थित र अवैज्ञानिक प्रयोगले सिर्जना गरेको प्लाष्टिकजन्य फोहर वर्तमान समयको एक प्रमुख वातावरणीय चुनौती बन्न पुगेको र विकास तथा वातावरण एकापसका प्रतिद्वन्द्वी नभई परिपूरक भएको राष्ट्रपति पौडेलको सन्देशमा उल्लेख छ ।
 
“वातावरण संरक्षण तथा सुधारका लागि नेपालले अवलम्बन गरेको राष्ट्रियस्तरका वन, वातावरण तथा जलवायु परिवर्तन नीतिहरूबाट निर्देशित विभिन्न कार्यक्रमले वन तथा वातावरणको क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको छ”, राष्ट्रपति पौडेलको शुभकामना सन्देशमा भनिएको छ, “मानिसले प्राकृतिक स्रोतको अधिक दोहन गरेका कारण हामी वरिपरिको पारिस्थितिकीय प्रणालीमा नै असन्तुलन उत्पन्न भएको छ, त्यसलाई पुनःस्थापित गर्न प्रकृतिमुखी जीवनशैली अपनाउँदै वातावरण सुधारका गतिविधि प्रवद्र्धन गर्न म सबैमा हार्दिक आह्वान गर्दछु ।”