राजनीति

कामपद्वारा जोखिममा रहेका ३७ जना बालबालिकाको उद्धार



काठमाडौँ, २६ जेठ । काठमाडौँ महानगरपालिकाको बाल उद्धार टोलीले ३७ जना बालबालिकाको उद्धार गरेको छ ।

सो टोलीले १९ जना बालिका र १८ जना बालक गरी ३७ जना बालबालिकाको उद्धार गरी ६ वटा संरक्षण गृहहरूमा पठाएको छ ।

शुक्रवार बसेको ‘महानगर बाल अधिकार समिति’ को बैठकमा बाल उद्धार टोलीले यससम्बन्धी जानकारी गराएको छ । उद्धार गरिएका बालबालिकाहरु घरेलु श्रमिक, होटेल, होस्टल र यातायात क्षेत्रमा आबद्ध रहेको बताइएको छ । 

जोखिममा रहेका बालबालिकाहरूलाई रातो, पहेँलो र हरियो वर्गमा राखिने गरिएको छ । १२ वर्षभन्दा कम उमेर भएका, दैनिक ७ घण्टाभन्दा धेरै काम गर्नुपर्ने, यौन हिंसा तथा दुर्व्यवहारको सामना गरेका वा गरिरहेका बालबालिकालाई रातो वर्गमा राखिन्छ । दैनिक २ देखि ५ घण्टासम्म काम गर्नुपर्ने, कुटपिट र गाली गलौच गर्ने गरिएको, पेटभरि खान नदिएको, निन्द्रा पुग्ने गरी सुत्न नदिएका बालबालिकालाई पहेँलो वर्गमा राखिन्छ ।

मायालु व्यवहार र बोली बचन पाएका, पर्याप्त मात्रामा शैक्षिक सामग्री उपलब्ध गराइएका, घरपरिवारसँग नियमित सम्पर्क गर्न पाएका, समान खाना पाएका र सुत्नका लागि खाट र कोठा पाएका बालबालिकालाई हरियो वर्गमा राखिएको छ । यीमध्ये अहिले रातो वर्गमा रहेका बालबालिकालाई उद्धार तथा जोखिम व्यवस्थापन गर्ने गरिएको उद्धार टोलीले जनाएको छ ।