समाचार

मोटरसाइकल दुर्घटना हुँदा दुई जना प्रहरीको मृत्यु   



काठमाडौँ, २८ जेठ । सिन्धुलीको फिक्कल गाउँपालिका-५ झगरेबेँसीस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा गस्तीमा खटिएका दुई जना प्रहरीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार प्रहरी चौकी रत्नावतीबाट प्रदेश ३-०२-००१ ब ४७९ नम्बरको मोटरसाइकलमा नियमित गस्तीमा खटिएका कमला नगरपालिका-९ घर भएका प्रहरी सहायक निरीक्षक (असई) रवीन्द्रकुमार ठाकुर र सोही मोटरसाइकलको पछाडि सवार भिमादनगरपालिका-७ तनहुँ घर भएका प्रहरी सहायक हवल्दार सूर्यकुमार श्रेष्ठको मृत्यु भएको हो ।

सोल्पाडाँडाबाट गस्ती गरेर पुनः प्रहरी चौकी रत्नावतीतर्फ फर्कने क्रममा प्रहरी सहायक निरीक्षक ठाकुरले चलाएको मोटरसाइकल अपराह्न ४ बजे अनियन्त्रित भएर सडकबाट ५० मिटर तल खसेको थियो । सहायक निरीक्षक ठाकुरको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते सहायक प्रहरी हवल्दार श्रेष्ठलाई उपचारका लागि काठमाडौँको महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा ल्याइएकामा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।