समाचार

आजको मौसम



काठमाडौँ, ३० जेठ । हाल नेपालको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यस्तै बाँकी भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

विभागका अनुसार अहिले मनसुनी प्रणालीको प्रभावका कारण कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । सुदूरपश्चिम, कर्णाली लगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनुका साथै बाँकी भागको मैसम सफा रहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राति भने कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।