राजनीति

सांसद पन्तको प्रश्न : सरकारको नुन खाएर विदेशी नागरिकता लिने को-को हुन् ?



काठमाडौँ, ३० जेठ । नेकपा एमालेका सांसद रघुजी पन्तले दोहोरो नागरिकता र विदेशी पीआर भएका कर्मचारी र ब्युरोक्र्याट्सहरुको छानबिनका लागि अख्तियारले लेखेको पत्रले बाटो बिराएको भन्दै त्यस्ता कर्मचारी र ब्युरोक्र्याट्सहरु को–को हुन् भनेर सरकारले संसद्लाई जानकारी दिनुपर्ने बताएका छन् । 

आज प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै नेता पन्तले अख्तियारले लेखेको पत्र केही समय हराएको र अहिले भेटिएको भन्ने समाचार आएको भन्दै नेपाल सरकारको नुन खाएर विदेशी नागरिकता लिने को–को हुन् भनेर चिन्न पाउनुपर्ने बताए । 

‘पीआर भएका कर्मचारी ब्युरोक्र्याट्सहरुको दोहोरो नागरिकता छ छैन ? छानबिन गर्न भनेर अख्तियारले लेखेको चिठीले प्रधानमन्त्री कार्यालयमा बाटो बिरायो रे । बल्लबल्ल त्यो फेला त परेको छ रे । फेला परेर पनि कारबाहीका लागि लेखिएको भनेर समाचारहरूमा पढ्न पाइएको छ’, पन्तले भने, ‘नेपाल सरकारको नुन खाँदा खाँदै विदेशी नागरिकता पनि लिन रहर लाग्ने महानुभावहरू को–को रहेछन् ? त्यो हामीले चिन्न पाउनुपर्‍यो ।’