समाचार

२० पटकसम्म मुद्दा चलेका चोर पक्राउ



काठमाडौँ, ३० जेठ । एक सहसचिवको घरमा चोरी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

नगद तथा गरगहना गरेर २८ लाख रुपैयाँ चोरी भएको दाबी गर्दै ती सहसचिवले जाहेरी दिएपछि प्रहरीले चोरीमा संलग्नहरुको खोजी गरेको थियो ।

त्यस क्रममा २० पटकसम्म पक्राउ परेका पटके चोरको समूहले सहसचिवको घरमा चोरी गरेको खुलेको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ । प्रहरीले ती सहसहसचिवको नाम भने खुलाएको छैन ।

पक्राउ पर्नेहरुमा भोजपुरको पौवादुम्बा गाउँपालिका–४ घर भई काठमाडौँ–२४ किलागल बस्ने ३० वर्षीय सीताराम लकान्द्रे, रामेछापको उमाकुण्ड गाउँपालिका–४ घर भई स्वयम्भू बस्ने सुजनकुमार सुनुवार, नुवाकोटको सामरी घर भई काठमाडौं शेषमती बस्ने ४० वर्षीय कुमार राना मगर, दोलखाको शैलुङ गाउँपालिका–८ घर भई थली बस्ने ४१ वर्षीय बीरबहादुर श्रेष्ठ, सोही ठाउँ घर भई काठमाडौं असन बस्ने सुनिल श्रेष्ठ छन् । यो समूहमा रहेका अर्का एक जना भने फरार रहेका प्रहरीको भनाइ छ ।

उनीहरुबाट प्रहरीले करिब ७ तोला सुनका गरगहना, मोवाइल, अमेरिकी र कम्बोडियाको मुद्रा आदि बरामद गरेको छ । यो सबैको बजार मूल्य करिब २८ लाख हुने प्रहरीको दाबी छ । यो समूहले पछिल्लो पटक ललितपुर महानगरपालिका–१८ ऐतिहासिक ढुंगेधारामार्गस्थित सहसचिवको घरमा २ जेठ मा चोरी गरेको थियो । दिउँसो १२ बजे घरमा कोही नभएको मौकामा उनीहरुले सुनचाँदीका गरगहना र नगद चोरी गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो ।

पक्राउ परेकामध्ये बीरबहादुर यसअघि २० पटसम्म पक्राउ परेर मुद्दा चलेका व्यक्ति रहेको खुलेको छ । उनी १२ वटा चोरी, ३ वटा डाँका चोरी, एउटा लागु औषध र ४ वटा अभद्र व्यवहारको कसुरको मुद्दा चलेको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस)बाट देखिएको परिसरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।

२०६४ सालमा पहिलो पटक चोरी मुद्दामा मुद्दा चलेका उनी रिहा भएपछि पुनः चोरीमा संलग्न हुँदै आएका थिए । पछिल्लो पटक उनी २४ भदौ २०८० मा कारागारबाट छुटेका थिए । पक्राउ परेका कुमार राना मगर पनि ६ पटक चोरी मुद्दा खेपेका व्यक्ति हुन् । सुजनकुमार सुनुवारविरुद्ध ७ वटा चोरी र एउटा लागु औषधको मुद्दा चलेको प्रहरीको रेकर्डमा उल्लेख छ ।

सुनिल श्रेष्ठविरुद्ध ८ वटा चोरी र २ वटा डाँका चोरी, एउटा लागु औषध र अभद्र व्यवहारको ३ वटा गरी १४ वटा मुद्दा चलेको सीआरएसमा देखिएको छ । पक्राउ परेका सीताराम भने चोरीको सुन किन्ने व्यक्ति हुन् ।