राजनीति

एमाले काभ्रेको अध्यक्षमा भुर्तेल विजयी



काभ्रे, ३१ जेठ । नेकपा (एमाले) काभ्रेको अध्यक्षमा राजन भुर्तेलको प्यानल नै विजयी भएको छ ।  

बुधबार अबेर सम्पन्न मतदानपछिको मतपरिणाम अनुसार ३८० मत प्राप्त गर्दै भुर्तेल अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।  अध्यक्षका अर्का प्रत्याशी रहेका चन्द्रबहादुर लामाले २९९ मत प्राप्त गरे । यसअघि भुर्तेल एमाले काभ्रेको सचिव थिए भने लामा उपाध्यक्ष थिए ।

पदाधिकारीमा उपाध्यक्षमा देवसागर लामा, सचिवमा राजकुमार सापकोटा, उपसचिवमा रत्नकुश रञ्जितकार र उपसचिव (महिला) मा सुर्यमाया दनुवार निर्वाचित भएका छन् । लामाको प्यानलबाट उपाध्यक्षमा आत्माराम थापा, सचिवमा होम चौलागाई, उपसचिव खुल्लामा पुरुषोत्तम अधिकारी र उपसचिव (महिला) मा पवित्रा भुर्तेलले प्रतिस्पर्धा गरेका थिए । जिल्ला कमिटीमा ५ पदाधिकारी, भौगोलिक क्षेत्रबाट ८० सदस्य, समावेशीतर्फ १३ सदस्य र खुलातर्फ ७ सदस्य गरी कुल १ सय ५ निर्वाचित भए । विद्युतीय मतदानमा ६८६ जना प्रतिनिधि मध्ये ६७९ ले मतदान गरेका थिए भने ७ जना उपस्थित भएनन् ।

अधिवेशनमा नेताहरुले हस्तक्षेप नगर्न दिएको अध्यक्षको निर्देशन लत्त्याउँदै पोलिट्व्युरो सदस्य गोकुल बास्कोटा, जिल्ला अध्यक्ष अशोककुमार व्याञ्जु लगायतका नेता कार्यकर्ता भूर्तेलको पक्षमा खडा भएका थिए भने केन्द्रीय सदस्य रेशम लामा, युवा संघका उपाध्यक्ष अमित लामा लगायतका युवाहरू लामाको पक्षमा खुलेका थिए ।