राजनीति

अस्पतालमा बिरामीले घण्टौँ लाइन बस्नुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ : सचेतक बराल



काठमाडौँ, ३१ जेठ । नेकपा एमालेकी सचेतक सुनिता बरालले सरकारी अस्पतालमा बिरामीले घण्टौँ लाइन बस्नुपर्ने बाध्यता हटाउन माग गरेकी छन् । 

आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नागरिकहरू सरकारी अस्पतालमा घण्टौँ लाइन बस्नुपर्ने अवस्था रहेकोले ओपिडी काउन्टर बढाएर भएपनि बिरामीहरूलाई समयमै उपचार गर्नुपर्ने अवस्था बनाउन माग गरेकी हुन् । 

बिरामी दर्ता, रिपोर्ट बुझ्दा, डाक्टरलाई रिपोर्ट बुझाउँदा बारम्बार लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य गर्न आग्रह गरिन् । उनले स्वास्थ्य बिमा गरेका  नागरिकहरूले अर्को दर्जाको नागरिकमा दर्ता हुनु जस्तो गरेर व्यवहार गरिने भन्दै सो व्यवहार अन्त्य गर्न आग्रह गरिन् ।

उनले भनिन्, “आज सर्वसाधारण नागरिक हाम्रा सरकारी अस्पतालहरुमा घण्टौ लाइन लाग्ने अवस्था छ । ९ बजे ओपीडी खुल्ने अस्पताल हरुमा बिहान ५ बजेदेखि लाइन हुने अवस्था छ । एउटा काउण्टरको साटो ३-४ काउण्टर राखेर टिकट काट्नैका लागि घण्टौ लाइन लाग्नुपर्ने अवस्था अन्त्य गर्नु पर्यो । अर्को महत्वपूर्ण बिषय परीक्षण गर्दा टिकट लिएको बिरामी ल्याब दर्ता गर्न फेरि लाइन बस्नुपर्ने रिपोर्ट लिन फेरि लाइन बस्नुपर्ने र रिपोर्ट देखाउदा फेरि लाइन बस्नुपर्ने झन्झटपूर्ण अवस्था छ । अझ स्वास्थ्य बिमामा सूचीकृत भएका नागरिकहरुको बिमादाबीका लागि प्रस्थान बिन्दूको अस्पताल र परीक्षण गराइएको अस्पतालको बिषयमा बिलिङ काउण्टरमा लफडा भैरहेको देखिन्छ । बिमामा सूचीकृतहरुलाइ दोश्रो दर्जाको नागरिक जस्तो ब्यबहार गरेको गुनासो आइरहेको छ यो कैले बन्द हुन्छ । डाक्टरलाई जचाउँदा नै विरामीले अनलाइनबाट सेवा लिन सक्ने अवस्था भए राम्रो हुनेथियो| अनलाइनबाट नै रिपोर्ट तथा औषधि र सल्लाह दिने व्यवस्था गर्ने गरी अनलाइन प्रणाली विकास गर्नेतिर समेत सम्बन्धित निकायको ध्यानाकर्षण होस् । स्वास्थ्यजस्तो संवेदनशील विषयमा नागरिकमा राज्यविरुद्धको आक्रोस निर्माण हुने यस्ता अवस्था भईरहेका अस्पतालहरुको विषयमा सरकारको गम्भिर ध्यानाकर्षण होस् ।”