Banner News

फाटो, विभाजन र गुटबन्दी गर्नेलाई एमालेमा ठाउँ छैन : अध्यक्ष ओली



काठमाडौँ, ३१ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र फाटो, विभाजन र गुटबन्दी गर्नेहरूलाई ठाउँ नदिइने बताएका छन् । 

आज एमाले भक्तपुर नवनिर्वाचित कमिटीको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘फाटो, विभाजन र गुटबन्दी गर्नेहरूलाई पार्टीभित्र ठाउँ छैन’, ‘आन्तरिक सङ्घर्षका लागि ठाउँ छैन छलफल र विचार विमर्श गर्नलाई ठाउँ छ ।’

अध्यक्ष ओलीले मिसन ८४ यतिकै नभनेको भन्दै देशको राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्‍याउन खोजेको पनि बताए । पार्टीभित्र एकताबद्धता पहिलो रोजाई हुनुपर्ने ओलीको कार्यकर्तालाई सुझाव छ । ‘हाम्रो एकताकै कारण पार्टी सिद्ध्याउँछु भन्नेहरू असफल भएका हुन् । हाम्रो सुझबुझ र सचेत एकताले हो नै उनीहरू असफल भएका हुन्’, अध्यक्ष ओलीको भनाइ छ । पार्टीलाई एकताबद्ध ढङ्गले अघि बढाए मात्रै विपक्षीहरूसँग प्रतिस्पर्धा गर्न सकिने भन्दै ओलीले एमालेलाई निर्णायक शक्ति बन्न नदिन एकपछि अर्को मिथ्या आरोप लाग्ने गरेको बताए । 

‘एउटा करायो केपी ओलीले १०८ केजी सुन चढाएँ भनेर पित्तल चढायो । छानबिन गरिपाऊ भन्यो । पशुपतिमा चढाएको जलहरी भत्काएर, तौलिएर, घोटेर । कहाँ गयो त्यो कराउने रु’, ओलीको प्रश्न छ । उनले गिरीबन्धु टिस्टेटमा ५१ र १९ विगाहा विक्री गरेर कांग्रेसले बेचेर खाएको भन्दै उनले आफूले कानुन बनाएपछि खान नपाउँदा स्याल हुइयाँ मच्चाएको आरोप लगाए ।

 ओलीले नेपाली कांग्रेसले देशको नाममा कुनै काम नगरेको टिप्पणी गरेका छन् । “एउटा सिन्को भाँच्या छ ? कति वर्ष सरकारमा बस्यो,  देशका  लागि ? कांग्रेसले देशका लागि गर्‍यो के भन्दा केही पनि छैन,” उनले भने ।

एमालेले एक महिनासम्म दिनमा ३० हजार स्वयंसेवक एक महिनासम्म खटाएको उनले बताए । उनले कांग्रेसले काम नगर्ने र धेरै बोल्ने गरेको आरोप लगाए । 

“मलाई थाहा छैन, हात छ कि छैन । थुतोनो मात्रै ट्याउँट्याउँ,” उनले भने, “यिनीहरूलाई गाली गर्न आउँछ । भ्रम फिजाउन आउँछ । तर, काम गर्न आउँदैन । कांग्रेस भेटियो भने हेर्नुपर्ला, खोइ देखाऊ त हात छ कि छैन ?”